Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

एनपीएल फाइनल खेलपछि भएको कुटपिट घटनाबारे प्रहरीले थाल्यो छानबिन


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको फाइल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकमाथि भएको कुटपिट घटनाबारे प्रहरीले छानबिन थालेको छ ।

शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको घटनाबारे अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी नवराज अधिकरीले बताए । कुटपिटबाट घाइते भएका युवाको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको बताउँदै उनले त्रिविको गेट नजिकै एक युवामाथि कुटपिट भएको घटनाबारे अनुसन्धान थालेको र छानबिन गर्ने बताए ।

मैदानमा गेम सकिएलगत्तै जनकपुर बोल्ट्सका समर्थक रहेका उनीमाथि अन्‍य टिमका समर्थकले सांघातिक आक्रमण गरेको आरोप छ ।

साथै अन्‍य टिमका समर्थकले उनलाई जनकपुर बोल्ट्सका ‘मधेशी’ समर्थक भनेर नश्लीय साम्प्रदायिक व्यवहार गरेको आरोप छ । दरबार हाइस्कुलमा १२ कक्षामा अध्‍ययनरत उक्त युवकको वीर अस्पतालमा उपचार भइरहेको छ ।

यता, अन्‍य समर्थकको भिडले कुटपिट र लछारपछारका कारण युवकको दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी समेत परेको छ । उजुरीपछि मधेशी आयोगले घटनालाई छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले बताए ।

उनले भने, ‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ, सरकारले यसमा तुरुन्तै कारबाही अगाडी बढाओस् ।’ साथै उनले कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट