वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोडले घट्यो
काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ । चालू आर्थिक वर्ष २०८१र०८२ को पुस पहिलो हप्तासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
गएको आर्थिक वर्षको यही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो ।
त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गएको वर्षको समान अवधिको तुलनामा ३० प्रतिशतले बढेको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार यस अवधिमा वैदेशिक अनुदान छ अर्ब ७५ करोड रुपैयाँ, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ गरी कुल ४४ अर्ब आठ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।
यसैबीच सरकारले चालु आर्थिक वर्षको ५ महिना अवधिमा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ ।
मङ्सिर मसान्तसम्म सरकारले वार्षिक बजेट विनियोजनको ४२ दशमलव ३५ प्रतिशत रकम ऋण तिर्न खर्च गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ५ महिनामा सरकारले १ खर्ब ४९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण तथा २० अर्ब ९३ करोड रुपैया बाह्य ऋणको दायित्व घटाएको छ ।
मङ्सिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । कार्यालयका अनुसार आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड रुपैयाँ तथा ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।
त्यस्तै बाह्य ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३१ करोड रुपैयाँ तथा ब्याज भुक्तानीमा ३ अर्ब ६१ रुपैयाँ खर्च भएको देखिएको छ । विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण बाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थप भएको कार्यालयले जनाएको छ ।
मङ्सिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण तथा २८ अर्ब २९ करोड रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो १ महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैयाँले घटेको छ ।
सरकारले मङ्सिर महिनामा ५८ अर्ब २४ करोड रुपैयाँ ऋण भुक्तानी गरेपछि सार्वजनिक ऋण साढे २५ अर्ब रुपैयाँले घटेको हो । मङ्सिर महिनामा सरकारले २१ अर्ब २३ करोड रुपैयाँ ऋण प्राप्ती गरेको छ भने ५८ अर्ब २४ करोड रुपैयाँ तिरेको देखिन्छ ।
चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा भने सार्वजनिक ऋण ५८ करोड ३१ अर्ब रुपैयाँ थपिएको छ । योसँगै मङ्सिर मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया