तारन्तार सरुवाको आतंकः संघर्ष र सामूहिक प्रयासको गाथा
ईश्वरी दाहाल
‘गण्डक क्षेत्रका लुम्बिनी, गण्डकी र धौलागिरिमध्ये जहाँ कार्यालय राख्न उपयुक्त हुन्छ, त्यहीँ राख्नुहोला, कार्यालय राखेको तीन महिनाभित्रमा कारखानालाई जानकारी गराए हुन्छ’ २०२८ सालमा मलाई यही व्यहोरा लेखेर चितवनबाट रवाना दिइएको थियो । यो २०२८ सालको घटना हो ।
गण्डक क्षेत्रमा सरुवा भएर गएपछि मैले पोखराको बगरमा कार्यालय राखेँ । पोखरा र त्यो आसपासको क्षेत्र, नेपालको चेरापुन्जी (धेरै पानी पर्ने ठाउँ) को नामले चिनिने गर्दथ्यो । साउनको महिना थियो, निकै ठूलो पानी प¥यो । त्यतिखेर पृथ्वी राजमार्ग खुलिसकेको थिएन, बन्दै थियो । सिद्धार्थ राजमार्ग चाहिँ खुलिसकेको थियो ।
मसँग पैसा थिएन । साथमा श्रीमती दुर्गादेवी र बालबच्चाहरु पनि थिए । पैसा नभएपछि खानेकुरा हुने कुरै भएन । उधारो खाउँ, भर्खर गएको नयाँ ठाउँ चिने÷जानेको कोही छैन । चरम अभाव र संकट बढ्न थालेपछि श्रीमती दुर्गाले भनिन्– ‘भो, अब म सिन्धुली घर जान्छु । यहाँ खान पनि गाह्रो, दाउरा बाल्न पनि गाह्रो भयो ।’ हुन्छ भन्नु बाहेक मसँग विकल्प थिएन । उनी बालबच्चा च्यापेर सिन्धुली लागिन् ।
म पोखराबाट बुटवल लागेँ । बुटवल गएर सुरुमा त्यहाँको पुल्चोकमा कार्यालय खडा गरेँ । कारखाना खडा गरे पनि काँचो छाला संकलन हुने अवस्था थिएन । किनभने कारखानाबाट एक रुपियाँ पनि आउँदैनथ्यो । आफू स्वयम्का लागि निर्वाह गर्न पनि धौ–धौ थियो । तर, पनि हरेस खाने कुरा भएन ।
बुटवलको रोहिणीमा म, मानबहादुर थापा, धनबहादुर (डिबी) आचार्य, मुख्तार अहमद, झिन्कुल खाँ, लोकप्रसाद पराजुली, पुण्यप्रसाद दाहाल, यमप्रसाद मल्ल, दिलबहादुर गिरी, केशरबहादुर सार्कीसहित १० जना साझेदार मिलेर ‘हिमाली कारखाना’ खोल्यौं । बुटवल चौबाटोको दस किलोमिटर पूर्वतर्फ रोहिणी खोला छ । हामीले रोहीणी खोलाकै किनारमा कारखाना हिमाली कारखाना स्थापना गरेका गरेका थियौं ।
बाँसबारी छाला कारखानाको जागिर त छँदै थियो । हिमाली कारखानामा साझेदार सबैले लगानी गर्ने, त्यो सामुहिक हुने भन्ने थियो । त्यहाँ सबैले श्रम गर्नुपर्ने, दिनभर जसले जे काम गर्छ, प्रत्येक बेलुका सबैले विवरण लेखाउनुपर्ने नियम बनाइएको थियो । भात पकाउने मानिसले घन्टी बजाउनुपर्ने नियम थियो । त्यहाँ एक किसिमको साम्यवादी व्यवस्थापन लागू गरिएको थियो । वास्तवमा त्यो एउटा ठूलो र पवित्र उद्देश्यसित जोडिएको थियो ।
जसको एक मुख्य हर्ताकर्ता म नै थिएँ । हिमाली कारखाना एक किसिमको कम्युन जस्तै थियो । कारखाना जङ्गलको बीचमा थियो । सामूहिक उत्पादनको भावना थियो । त्यहाँ मुसलमान पनि थिए, सार्की पनि थिए, गिरी पनि थिए, क्षेत्री पनि थिए । बाहुन पनि थिए । जातीय सद्भाव र समभाव थियो ।
हामीसँग सहभागी डीबी आचार्यले प्रविणता उत्तीर्ण गरेका थिए । शिक्षामा समेत फैलने भनेर हामीले उनलाई शिक्षकमा खटायौं । हामी आफैंले पनि पढ्नुपर्ने नियम बनाएका थियौं । त्यहाँको थारु वस्तीमा विद्यालय खोल्यौं । बालबच्चाहरुलाई पढाउँ भनेर अभिभावकहरुका घर–घरमा गयौं । यसले गर्दा जनतामा हाम्रो राम्रो प्रभाव प¥यो । दुःखद् कुरा यो भयो कि एकजना पाल्पाकी जिमदार नेवार्नीले विद्यालय नै भत्काइदिइन् । हामीले त्यहाँ पुस्तकालय र वाचनालय पनि बनाएका थियौं । तर, पाल्पाकी जिमदार्नी हाम्रो शत्रु भएर निस्किइन् । उनकै कारण अरु मान्छेले पनि हामीमाथि कड्के आँखा लगाउन थाले । वास्तवमा परम्परागत रुढीवाद विरुद्ध ठूलै संघर्ष चल्दै थियो ।
सायद प्रशासन हाम्रा गतिविधि पुग्यो । कसैले ईश्वरी दाहालले सबैलाई उचालिरहेको छ भनेर सुनाईदिए । मलाई रातारात बुटवलबाट भैरहवा सरुवा गरियो । यो सरुवासँगै मेरो जिम्मेवारी पनि परिवर्तन भयो । अब मेरो जिम्मेवारी बाँसबारी छाला तथा जुत्ता कारखानाको जुत्ता बिक्री डिपोको इन्चार्जकोरुपमा रहने भयो । मैंले त्यो सरुवा र जिम्मेवारीलाई स्वीकार गरेँ । जुत्ताका विभिन्न नमुना र आकार प्रकारसहित आफैँले बोकेर पूरै लुम्बिनी अञ्चलका गुल्मी, अर्घाखाँची र पाल्पाका बजारहरु डुलेँ र विभिन्न ठाउँमा जुत्ता बिक्री गर्ने डिलरहरु बनाएँ ।
तर मेरो यो कामले हाकिमहरु खुशी हुनुको साटो उल्टै एक वर्ष नपुग्दै जनकपुर सरुवा गरियो । भैरहवा रहँदा त्यहाँको ‘नवजीवन’ पत्रिकामा मेरो ‘खुला हाँक, तिमी तर्साउने मूर्कुट्टाहरुलाई’ शीर्षकमा कविता प्रकाशित भएको थियो । नवजीवनको सम्पादक हालका प्रसिद्ध साहित्यकार, गजलकार बुँद राना हुनुहुन्थ्योे । मेरो कविता उहाँले हिम्मत गरेरै छाप्नुभएको थियो । त्यो कवितालाई मैले त्यहाँको एक कार्यक्रममा वाचन गर्दा पञ्चायतका मण्डलेहरुले मप्रति दागा धारेका थिए । भैरहवामा मण्डलेहरुको बिगबिगी थियो । त्यही कविताको परिणाम मलाई भैरहवाबाट जनकपुर सरुवा गरिएको थियो । त्यसबेला शासहरुलाई एउटा कविता पनि ठूलै आतंक हुन्थ्यो ।
भैरहवामा डिपो इन्चार्जका रुपमा रहँदा मलाई बाँसबारी छाला तथा जुत्ता कारखानाले पाँचसय रुपियाँसम्म उधारो दिन पाउनुहुनेछ, त्यो भन्दा बढी उधारो दिएमा आफैं जिम्मेवार हुनुपर्नेछ भन्ने पत्र दिएको थियो । त्यही पत्रको आधारमा मैले त्यस क्षेत्रका जुत्ताका डिलरहरुलाई उधारो दिएको थिएँ । जनकपुर सरुवा गरे लगत्तै काठमाडौंबाट कारखानाले मलाई जुत्ता किन उधारो दिएको भनेर स्पष्टिकरण सोध्यो । मैंले कारखानाले नै दिएको पत्र त देखाएँ नै, उधारो उठाएर बुझाएँ ।
तर, कारखानाले नै दिएको पत्र देखाउँदा, उधारो उठाएर बुझाउँदा पनि मलाई निलम्बन गरियो । सत्ताधारीहरुले एकपछि अर्को गरी सताउन छाडेनन् । यसपछि म जागिर छाड्ने मुडमा पुगेँ ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया