Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

पाँच महिनामा १३ अर्ब ४ करोडको बिजुली भारत निर्यात


काठमाडौँ । भारतमा बिजुली बेचेर चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपालले १३ अर्ब चार करोड रुपियाँ आर्जन गरेको छ ।

गएको साउनदेखि मङ्सिरसम्ममा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत भारत निर्यात गरी सो रकम आर्जन गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।

प्राधिकरणले साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट निर्यात गरी सबै भन्दा बढी आम्दानी गरेको हो ।
मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपियाँको मात्र निर्यात गरेको छ ।

समीक्षा अवधिमा निर्यात भएको विद्युतको औसत दर प्रतियुनिट ७.३९ पैसा रहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताएका छन् ।

चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखेकोमा बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पु¥याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको घिसिङले बताए ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात पनि सुरु भइसकेको छ ।

नेपाल विद्युत प्राधिकरणले गत आ.व. २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको थियो । त्यस्तै सोही आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत आयात गरेको छ । गत आ.व.मा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको थियो ।

यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल विद्युत निर्यातकर्ता मुलुक बन्न सफल भएको थियो । भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको छोटो अवधिमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेर इतिहास रचेको छ ।
आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट