Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

जनयुद्धमा सामेल भएका नेताहरुले नै यसलाई कमाइखाने भाँडो बनाए


सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि यतिबेला पूर्वमाओवादी धाराका व्यक्ति एवम् समग्र माओविचारधारा मान्नेहरुले सामाजिक सञ्जालमार्फत जनयुद्ध कुनै आवेगमा आएर गरिएको क्षणिक कच्चा खेल थिएन भन्दै ‘जनयुद्ध जिन्दावाद’ लेख्ने गरेको पाइएको छ ।

संवैधानिक इजलासले गत २६ मंसिरमा गरेको निर्णय अनुसार गत बिहीबार सर्वोच्चले प्रमाणीकरण गरिदिएको थियो। योसँगै अब सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोगले मान्यता नपाउने भएको छ । संघीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएपछि अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो ।

‘जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२ (५) प्रतिकूल भएको सर्वोच्चको आदेश छ । जनयुद्धप्रति सर्वोच्चले यस्तो आदेश दिनु एक त न्यायालयमा दलीय भाडबण्डाका आधारमा न्यायाधीशहरु नियुक्त गर्नुको परिणामा हो भने जनयुद्ध लडेका व्यक्ति तथा नेताहरु आपसमा नमिल्नु र बिभिन्न दल खोलेर चोइटिनु हो । सम्मानित अदालतको आदेश मान्नु र पालना गर्नु सबैको दायीत्य हो । तर यसो भन्दैमा अदालतले गरेको फैसलामा केही बोल्न/लेख्न पाइँदैन भन्ने होइन ।

कसरी सत्तामा टिकिरहने र सत्तामा टिक्नका लागि जस्तोसुकै घृणित कार्य गर्न पछि नपर्नु पनि जनयुद्धलाई अवहेलना गर्ने बिरोधीहरुलाई मलजल गर्ने साधन बनेको छ । जनयुद्धमा सामेल नभएका जनयुद्ध बिरोधीहरुले जनयुद्धलाई अपभ्रंश गरे भन्दा पनि जनयुद्धमै सामेल भएका नेताहरुले यसलाई कमाइखाने भाँडो बनाउँदा आज जनयुद्ध सरकारी कामकाजमा प्रयोग नगर्ने, प्रतिवन्ध लगाउने स्थिती बनेको हो ।

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध (शसस्त्र युद्ध) १० वर्षसम्मा चल्यो । यो युद्ध ०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता मार्फत बिभिवत रुपमा अन्त्य भयो । जनयुद्धकै कारण देशमा राजतन्त्रको अन्त्य भई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । जनयुद्धकै अजेण्डा अनूरुप अन्तरिम संविधानहुँदै संविधानसभाको निर्वाचन भयो र देशले २०७२ सालमा नयाँ संविधान प्राप्त गर्यो । यो संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लागू गर्यो । सोही अनुरुप सदियौदेखि हेपिएका, शोषण र दमनमा परेका जनताले अहिले समान हक अधिकार प्राप्त गरेका छन् । यद्यपी अझै संघीयताको मर्म अनुरुप संघीय, प्रदेश र स्थानीय तहमा यो अक्षरसः लागू हुन सकेको छैन ।

कुनै पनि संघर्ष अदालतको आदेशमा गरिने विषय वा कार्य होइन । आन्दोलन जनताले स्वस्फूर्त रुपमा गर्ने एक प्रकारको अभियान हो । जनयुद्धकै कारण आज हामी यी विषयमा खुलेर कलम चलाउन सक्ने भएका छौँ । यसको श्रेय जनयुद्धलाई नै जान्छ । जनयुद्धकै आडमा भएका अधिकार प्राप्तिका अन्य आन्दोलन र ती आन्दोलनका आधारमा प्राप्त भएका अधिकारहरु पनि यदि भोलिका दिनमा यो वा त्यो बहानामा खोसिन्छन् भने त्यसका लागि जनता सडकमा उत्रिन्छन् र त्यसका लागि अदालतको आदेश पर्खिएर जनता बस्दैनन् ।

जनयुद्धका बेला जनतामा बाँडिएका आश्वासन अझै पूरा हुन सकेका छैनन् । जनयुद्धको नेतृत्व गरेका केही नेताहरुको जीवनशैली र उनीहरुको व्यवहार सामन्तीशैली छ । ‘मैं खाउँ, मैं लाउँ’ भन्ने शैली माओवादीका केही नेतामा हावि हुँदा र कार्यकर्तामा त्यही कुरा लागू हुँदा भुइँमान्छेहरुका अधिकार स्थापित हुन सकिरहेका छैनन् । जनयुद्ध लडेका नेताहरु शान्ति पकृयापछि नवधनाढ्य बनेका छन् । उनीहरुमा कम्युनिस्टमा हुनुपर्ने अनुशासन, आचरण, व्यवहार, शैली र सिद्धान्त सबै पतन भएको छ । कसरी सत्तामा टिकिरहने र सत्तामा टिक्नका लागि जस्तोसुकै घृणित कार्य गर्न पछि नपर्नु पनि जनयुद्धलाई अवहेलना गर्ने बिरोधीहरुलाई मलजल गर्ने साधन बनेको छ । जनयुद्धमा सामेल नभएका जनयुद्ध बिरोधीहरुले जनयुद्धलाई अपभ्रंश गरे भन्दा पनि जनयुद्धमै सामेल भएका नेताहरुले यसलाई कमाइखाने भाँडो बनाउँदा आज जनयुद्ध सरकारी कामकाजमा प्रयोग नगर्ने, प्रतिवन्ध लगाउने स्थिती बनेको हो । जनयुद्धलाई कमाइखाने भाँडो बनाउने, जनयुद्धका योद्धालाईं चिढ्याएर यसको फाइदा कथित नेताले नाति नातिना पुस्तासम्मलाई पोस्नुले पनि जनयुद्धको अर्को अप्रिय सन्देश जवर्जस्त रुपमा बाहिर प्रवाह हुँदै गएको छ ।

जनयुद्ध र माओवादी पार्टीका बारेमा आलोचनात्मक सुझाव सुन्नै नचाहनु, नेताहरु आफ्नो पूजा र प्रसंशामा रमाउनु अर्को ठूलो भूल माओवादी पार्टीका जरा गाडेर बसेको छ । यदि जनयुद्धको योगदान र भूमिका बारेमा सही तरिकाले अवको नयाँ पुस्तालाई जानकारी दिन, यसबारेमा लेख्न, बोल्न र विश्वविद्यालयका प्राज्ञिक शोधकार्य (थेसिसहरुमा) अझै पनि लिपिबद्ध नगर्ने हो भने यो युद्धमा केवल हत्या, हिंसा मात्र भएको थियो भनेर गलत सन्देश प्रवाह भइरहने छ । यसका लागि कम्तिमा माओवादी जनयुद्ध धाराका पार्टी तथा नेताहरुले गम्भिर भएर सोच्न जरुरी छ ।


क्याटेगोरी : जनमञ्च, बिचार

प्रतिक्रिया


ताजा अपडेट