Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

काठको अभावले घान्द्रुक गाँउमा घरहरु आधुनिक बन्न थाले, मौलिकता संकटमा


अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने कास्की जिल्लाको घान्द्रुक गाउँलाई ‘ढुंगेनी गाउँ’ भनेर पनि चिनिन्छ । यहाँका घरहरू ढुंगा र काठको प्रयोगले बनेका कारण यो नाम चर्चित छ । घरका छाना ढुंगाले छाइएका छन् र ढुंगा नै बाटोमा ओछ्याइएको छ । यसले गाउँलाई विशेष पहिचान दिएको छ ।

तर, आधुनिकता र प्राकृतिक स्रोतको अभावका कारण घान्द्रुक गाउँको परम्परागत स्वरूप संकटमा परेको छ । पुराना घरहरूको मर्मत सम्भारका क्रममा काठ अभाव भएपछि नयाँ निर्माणहरू आधुनिक शैलीतर्फ धकेलिएका छन् ।

घान्द्रुक वरपरको जङ्गलमा बलियो काठको अभाव धेरै छ । प्रायः यहाँका जङ्गलमा उतीस जातका रुख पाइन्छन् । जसको काठ टिकाउ नभएकाले स्थानीयवासीलाई बारम्बार मर्मत गर्नुपरेको छ । बलियो काठको ढुवानी महँगो पर्नु र निर्माण खर्च बढ्नुले स्थानीयहरूलाई आधुनिक निर्माण शैलीतर्फ आकर्षित गराएको हो ।

स्थानीय होटल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार, ‘गाउँको मौलिकता जोगाउन पुरानै शैलीका घर बनाउन चाहन्छौं तर काठ र ढुंगाको ढुवानी खर्चले बाध्य बनाएको छ ।’ ढुंगा ओसार्न समेत घच्चडमा निर्भर रहनुपर्ने भएकाले मर्मत कार्य झन् जटिल भएको छ ।

अहिले गाउँमा परम्परागत शैलीको घरहरूमाझ आधुनिक घरहरू पनि देखिन थालेका छन् । यो परिवर्तले गाउँको मौलिकता मासिदै जाने जोखिम बढाएको छ । स्थानीयवासीहरू यस विषयमा चिन्तित छन् ।

सरकारी सहयोग र बाटो सुधारले भने स्थानीयमा आशा जगाएको छ । गाउँसम्म पुग्ने बाटो कालोपत्रे बन्ने प्रक्रिया सुरू भएकाले आगामी दुई वर्षभित्र ढुवानी सहज हुने र परम्परागत शैलीका निर्माणलाई प्रोत्साहन गर्न सकिने विश्वास रहेको छ ।

घान्द्रुक गाउँ समुद्री सतहदेखि २,०१२ मिटर उचाइमा र पोखराबाट ५४ किमि टाढा अवस्थित छ । यहाँबाट देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनोरम दृश्य, गुरुङ संस्कृतिका झल्को दिने भेषभूषा र पर्यटकीय सुविधाले गाउँलाई प्रसिद्ध बनाएको छ ।

गाउँमा ५५ वटा होटल र २३ वटा होमस्टे छन्, जसले एकैदिन १,२०० पर्यटकलाई सेवा दिन सक्छ । यहाँको परम्परागत रहनसहन, हिमाली दृश्य र लालिगुराँसको सौन्दर्यले पर्यटकलाई आकर्षित बनाएको छ ।

तर, गाउँको मौलिकतामा आएको ह्रासले यस क्षेत्रको पर्यटकीय सम्भावनामा नकारात्मक असर पुर्‍याउने चिन्ता छ । यदि समयमै काठ र ढुंगाको समस्या समाधान गरी परम्परागत शैलीलाई जोगाउन सकियो भने घान्द्रुकको पर्यटकीय महत्त्व अझ बढ्नेमा कुनै शंका छैन ।

घान्द्रुक गाउँको मौलिकता र सौन्दर्य संरक्षणमा ध्यान दिनु आजको आवश्यकता हो । काठ अभावको समस्याको समाधान र सरकारी सहयोगले यहाँको परम्परागत स्वरूपलाई जोगाउन सहयोग पुर्‍याउनेछ । पर्यटकीय आकर्षण र सांस्कृतिक धरोहरको संरक्षणले मात्र घान्द्रुकको पहिचान बचाउन सकिन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट