माओवादी पुनर्गठनः आदर्श, सत्य र इमानको खोजी
कम्युनिस्ट आदर्शको प्रतीक मानिएका होनहार नेता पदम राईको हालै भएको असामयिक निधनले नेपालको माओवादी आन्दोलनलाई ठूलो झट्का दिएको छ ।
जीवनभर माओवादी आन्दोलनलाई नयाँ उचाइमा पु-याउन र रचनात्मक विश्लेषणमार्फत पार्टीको कमजोरी सुधार्न उहाँले निरन्तर संघर्ष गर्नुभयो । पदम राई स्पष्ट विचार र व्यवहारका लागि परिचित हुनुहुन्थ्यो । उहाँले पार्टी शान्ति प्रक्रियामा आउने वित्तिकै पार्टीको केन्द्रीय समितिको एउटा वैठकमा नेतृत्वप्रति व्यंग्य गर्दै “भन्नु छ खसी, दिनु छ फर्सी, त्यो पनि पर्सि” भन्ने अभिव्यक्तिले माओवादी आन्दोलनभित्र बढ्दै गएको विश्वासको संकट र विसंगतिहरू उजागर गरेको थियो ।
उहाँको यो भनाइ माओवादी आन्दोलनको इतिहासमै गहिरो आत्मचिन्तनको संकेत थियो । पार्टीले आदर्श, सत्य र इमानको मार्ग छाड्दै गएको अवस्थामा उहाँको यो सन्देश अझै सान्दर्भिक छ । यदि पार्टीले यिनै आधारभूत मूल्यहरूमा त्यतिवेलैदेखि दृढता देखाएको भए माओवादी आन्दोलन अहिलेको जस्तो कमजोर र विभाजित अवस्थामा पुग्ने थिएन ।
पदम राईको इमान्दार छवि र क्रियाशीलताबारे उहाँका भतिज किरण राईले पनि स्मरण गर्नुभएको छ । उहाँका अनुसार, निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध देशव्यापी राजनीतिक जागरणको बेला पदम राई र उहाँ स्वयंले युवा, विद्यार्थीहरूलाई भोजपुरमा प्रेरित गर्न ठूलो भूमिका खेल्नुभयो । त्यतिबेलाको सक्रियताले धेरै युवालाई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लाग्न उत्प्रेरित ग-यो ।
भोजपुर जिल्लामा तत्कालीन मोटो मशालको बलियो प्रभाव भएकाले त्यसमै समाहित भएको स्मरण गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य किरण भन्नुहुन्छ, ‘त्यतिवेलाको भौतिक परिवेशले नै स्वतःस्फुर्त क्रान्तिकारी आन्दोलनमा लाग्न हामीलाई उत्प्रेरित गरेको थियो । जिल्ला स्तरको एक कार्यक्रममा असारे काकाले बोलेको र त्यसले सकारात्मक छाप छाडेको थियो । त्यस अगाडि आफूहरुको जिल्ला तहका नेता वाहेक अरुसँग सम्पर्क थिएन ।’
त्यो बेलादेखि जनयुद्ध र अहिलेसम्म उहाँहरु काका भतिजले सँगै राजनीति गर्नुभयो र पूर्वको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्न इमान्दारीपूर्वक नेतृत्व गर्नुभयो ।
माओवादी पार्टी एकीकृत रहँदै पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले केन्द्रीय समितिको वैठकमा पदम राईको विचारलाई समर्थन गर्दै “झूटा आश्वासन एकछिनका लागि विजय जस्तो लागे पनि दीर्घकालमा यसले आन्दोलनलाई नकारात्मक दिशामा पु-याउँछ,” भनी चेतावनी दिनुभएको थियो ।
यसमा थप जोड दिदैं वरिष्ठ नेता सीपी गजुरेलले पाइड पाइपर अफ हेमलिनको प्रसिद्ध कथाको सन्दर्भ वैठकमा केलाउँदै माओवादी आन्दोलनको यथार्थलाई झल्काउन उपयुक्त हुने बताउनु भएको थियो । जसरी हेमलिन सहरको नेतृत्वले बाँसुरीवादकसँग गरेको वाचा तोडे र त्यसको परिणाम स्वरूप सहरका बालबालिका हराए, माओवादी आन्दोलनले पनि उत्पीडित वर्गको सपना देखाएर ती पूरा गर्न नसकेमा दुर्घटना हुने चेतावनी दिनु भएको थियो ।
वास्तवमै जनतासँग गरिएका वाचा पूरा नगर्दा आन्दोलनले जनताको विश्वास गुमाउँदै गएको छ । पार्टीभित्र आत्मसमीक्षा र सुधारको आवश्यकतालाई सान्दर्भिक बनाएको छ ।
माओवादी आन्दोलनलाई यतिबेला पुनर्गठन गर्नु अत्यावश्यक छ । समाजवादको नाममा कतिपयबाट सपनाको व्यापार र व्यक्तिगत स्वार्थका कारण आन्दोलन कमजोर भएको छ । अबको चुनौती भनेको इमानदारीपूर्वक जनताको सेवामा समर्पित नयाँ साेंच, आचरणसहितको नेतृत्व विकास गर्नु हो ।
नयाँ परिवेशसँग जुध्नसक्ने गरी माओवादी आन्दोलनलाई सबल बनाउन सत्य, इमानदारी र जनसेवाको मार्गमा केन्द्रित गर्नु अपरिहार्य छ । आदर्श र प्रतिबद्धतालाई पुनर्जीवित गर्दै माओवादी आन्दोलनले आफ्नो पुरानो विश्वासलाई पुनःप्राप्त गर्नु पर्नेछ ।
पाइड पाइपरको कथाले दिएको पाठलाई मनन गर्दै माओवादी आन्दोलनले अब वाचा पूरा गर्ने र सत्यतामा अडिग रहने मार्ग अपनाउनुपर्छ । केवल यही मार्गले आन्दोलनलाई सबल, प्रभावकारी र सफल बनाउन सक्छ । पदम राईहरुको योगदानको कदर गर्दै उहाँको सपना पनि पूरा हुन्छ ।
हरेक युगमा नयाँ नयाँ बासुरीबादकहरू देखापर्ने गर्दछन्, तिनीहरूका नक्कली धुनहरूबाट सावधान रहेर क्रान्तिको अमर संगितलाई जोगाइराख्नाले कमरेड पदम राई जस्ता योद्धाहरूप्रति साँचो श्रद्धाञ्जली सावित हुनेछ ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया