भारतीय गायक सोनू निगम काठमाडौंमा
काठमाडौं, १० पुस । चर्चित भारतीय गायक सोनू निगम नेपाल आएका छन् । बौद्धको हायात ग्राउण्डमा आज साँझ हुने सांगीतिक कार्यक्रमको लागि उनी आफ्नो व्याण्डका डेढ दर्जन सदस्यसहित बिहान काठमाडौँ आइपुगेका हुन् ।
कार्यक्रममा प्रवेशको लागि न्यूनतम एक हजारदेखि २० हजारसम्मको टिकट शुल्क तोकिएको आयोजक नेपाली टचले जनाएको छ । १२ हजार क्षमता भएको हायात ग्राउण्डमा १० हजार दर्शकको सहभागिता रहने आयोजकको विश्वास छ । अहिलेसम्म अनलाइनबाट ६ हजार टिकट बिक्री भइसकेको बताइएको छ ।
गायक निगमको सुरक्षा र कार्यक्रममा भीड नियन्त्रणको लागि सयौँको संख्यामा स्वयंसेवक र सुरक्षाकर्मीहरु खटाइएको छ । स्टेज पनि भव्य रुपमा श्रृंगारिएको छ ।
निगमले स्वर दिएका नेपाली गीतहरु ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’ दर्शकमाझ निकै चर्चित छन् । उनले गायका हिन्दी भाषाका गीत रुचाउने दर्शक तथा स्रोताहरु पनि नेपालमा उत्तिकै रहेको पाइन्छ ।
क्याटेगोरी : मनोरञ्जन
प्रतिक्रिया