Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

बोट फेस्टिभलमा सहभागी हुन जहाज चार्टड गरी एक सय २९ जना चिनियाँ खेलाडी पोखरामा


लेखनाथ, ११ पुस । सिचुवान एयरलाइन्सको जहाज चार्टड गरी एक सय २९ जना चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । चीनको छेन्दु विमानस्थलबाट बिहीबार बिहान आइपुगेको चिनियाँ टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरेका छन् ।

शुक्रबारदेखि पोखराको फेवातालमा हुने इन्टरनेसनल ड्रागन बोट फेस्टिभलमा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको जहाज पोखरामा तेस्रो पटक चार्टड गरी आएको हो ।

ड्रागन बोट रेस प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका २० समूहले भाग लिँदै छन् । पुस १४ र १५ गते हुने प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरको एक गरी २० वटा समूहको सहभागिता रहने तय भएको छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने महोत्सवको सहआयोजकमा नेपाल ड्रागन वोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसन छन् ।

प्रतियोगिता दुई सय मिटर र पाँच सय मिटर गरी दुई विधामा हुनेछ । दुवै विधामा प्रथम हुनेले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार दुई सय डलर पाउने छन् ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट