Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

बर्दियाका स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव


नेपालगन्ज, ११ पुस । बर्दियाका विभिन्न स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ । लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले खोप नपठाउँदा भ्याक्सिनको अभाव भएर बिरामीले सास्ती भोग्नु परेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।

बर्दिया अस्पताल, बारबर्दिया नगर अस्पताल, बासगढी नगर अस्पताल र राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन अभाव रहेको ती अस्पतालहरूले जनाएका छन् । बर्दिया अस्पताल, गुलरियामा कुकुरले टोकेपछि रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको सङ्ख्या बढ्दै गएपनि माग गरिएको भ्याक्सिन नआउँदा समस्या भएको अस्पतालका प्रमुख डा। सुभाष पाण्डेले बताए । उनले अस्पतालमा गत डेढ महिना अघिनै भ्याक्सिन सकिएको र त्यस यता नआएकोले अभाव रहेको जानकारी दिए । स्वास्थ्य संस्थालाई सो भ्याक्सिन खरिदको अधिकार नभएको जनाउँदै उनले तर गत सात आठ वर्षदेखि प्रायजसो अभावनै हुने गरेकोले यस तर्फ सम्बन्धित निकायले ध्यान दिन आग्रह पनि गरे।

बजारमा पाइने भ्याक्सिनको पाँच डोज लगाउनु पर्ने र सरकारले उपलब्ध गराएको भ्याक्सिनको तीन डोज मात्रै लगाउनु पर्ने पनि डा. पाण्डेले बर्ताए। यसैगरी बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बारबर्दिया नगर अस्पतालमा पनि महिना दिनदेखि भ्याक्सिनको अभाव भएको बताए । उनले एन्टी रेबिज भ्याक्सिन लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा नै अभाव भएकोले अस्पतालमा पठाउन नसकिएको जानकारी आएको बताए ।

सोही प्रकारले बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेश थारूले रेबिजको भ्याक्सिन सकिएको एक महिना बढी भए पनि भ्याक्सिन नआउँदा कुकरले टोकेका धेरै बिरामी फर्कन बाध्य भएको बताए । प्रदेशसँग भ्याक्सिन माग गरेको समेत उनले जानकारी दिए ।

यस्तै राजापुर प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी सुरेश चौलागाईले रेबिजको भ्याक्सिन कात्तिक महिनामै सकिएको जनाउँदै थप भ्याक्सिन नआउँदा समस्या भएको बताए । ठाकुरबाबा नगपालिकामा पनि लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पठाएको भ्याक्सिन दुई महिना अघि नै सकिएको स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिए । तर, ठाकुरबाबामा भने भ्याक्सिनको अभाव हुन नदिन स्थानीय सरकारले २०० भाइल भ्याक्सिन खरिद गरेर काम चलाइरहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट