Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

माओत्सेतुङ जयन्तीमा तेस्रो कम्युनिस्ट एकताको अपील


काठमाडौं, ११ पुस । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आज माओत्सेतुङ जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ एउटै मञ्चमा उभिएर तेस्रो चरणको कम्युनिस्ट एकताको लागि अपील गरे ।

कार्यक्रमले माओवादी आन्दोलनका विभिन्न धारहरूबीच संवाद र सहकार्यको सम्भावनालाई नयाँ ढंगले अघि बढाउने सन्देश दिएको छ । दुबै नेताले माओवादी आन्दोलनका ऐतिहासिक अनुभव, राजनीतिक परिवर्तन र समसामयिक चुनौतीहरूको विषयमा आफ्ना धारणा राख्दै विगतका असमझदारीलाई पन्छाएर नयाँ ढंगको सहकार्य र एकताको लागि आह्वान गरे ।

माओवादी आन्दोलनको पहिलो चरण २०४७ सालमा भएको थियो । यसले नेपालमा जनयुद्धका लागि वैचारिक र संगठनात्मक आधार तयार गरेर २०५२ सालमा जनयुद्ध सुरू भयाे । दोस्रो चरणको एकता २०६५ सालपछि भयो । यसले जनयुद्ध र जनआन्दोलनका प्रगतिशील एजेन्डाहरूलाई लिपिबद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यी दुई चरणका उपलब्धिहरूलाई स्मरण गर्दै नेताहरूले अब तेस्रो चरणको एकताका लागि बल पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेताहरूले वर्तमान राजनीतिक अवस्थाको चर्चा गर्दै समाजवादी कार्यदिशाको मातहतमा माओवादी धारहरूको एकता र समग्र कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको बताए । माओवादी आन्दोलनका विविध धारहरूबीच विगतमा देखिएका असमझदारी र धङधङीलाई छाडेर नयाँ सोच र सहकार्यका साथ अघि बढ्नुपर्नेमा दुबै नेताहरूले जोड दिए ।

तेस्रो चरणको एकताको पहललाई संस्थागत र सशक्त बनाउने विषयमा कार्यक्रमका सहभागीहरूबीच व्यापक छलफल भयो । विप्लव र प्रभाकर दुवैले यो प्रयासलाई सफल बनाउन माओवादी आन्दोलनसँग सम्बन्धित सबै पक्षहरूको भूमिका अपरिहार्य रहेको धारणा राखे । उनीहरूले यो एकताका प्रयासलाई केवल नेताहरूको पहलमा सीमित नगरी आधारभूत तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

समाजवादी नेपाल निर्माण गर्ने उद्देश्यका लागि माओवादी आन्दोलनको ऐतिहासिक उपलब्धिहरूलाई आधार बनाउँदै नयाँ रणनीति निर्माण गर्नुपर्ने नेताहरूको धारणा थियो । तेस्रो चरणको कम्युनिस्ट एकताको माध्यमबाट वर्तमान राजनीतिक चुनौतीहरूको समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै नेताहरूले सहकार्य, संवाद र सहमतिको प्रक्रियालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

यो कार्यक्रमले माओवादी आन्दोलनका सबै धारहरूबीच वैचारिक र राजनीतिक सहकार्यको सम्भावनालाई बलियो बनाउँदै नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सकारात्मक सन्देश दिएको छ ।


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट