Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, निर्धारित समय अगावै परियोजना सम्पन्न गर्दै चिनिया टोली


दैलेख । पश्चिम नेपालको दैलेख जिल्लाको भैरवी गाउँपालिका, जलजले क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार अहिलेसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ ।

गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो भने फागुनसम्म सक्ने लक्ष्य राखिएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेशनाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

नेपाली अधिकारीहरूका अनुसार नेपाल र चीनबीच भएको द्विपक्षीय सहमति बमोजिम चीनबाटै आएको जनशक्तिले ड्रिलिङको काम गरिरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियो भने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गर्ने बताइएको छ ।

चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ ।

सो क्षेत्रमा यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । अहिलेको ड्रिलिङ अन्वेषणमार्फत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने जनाइएको छ ।

चिनियाँ प्राविधिक टोलीको यो अन्तिम चरणको अन्वेषण प्रतिवेदनले दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन योजना अघि बढ्ने जनाइएको छ ।

नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चिनियाँ प्राविधिक टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो । कोभिड महामारीका कारण उक्त कार्य केही समय स्थगित हुन पुगेको थियो । त्यसले गर्दा काममा केही ढिलाई हुन पुग्यो ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सिस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अन्तिम चरणको यो अन्वेषणपछि सहजै उक्त स्थानमा कति मात्रामा पेट्रोलियम पदार्थ र तेल वा ग्यास छ पनि भन्ने पत्ता लगाउन सकिने बताइन्छ ।

चिनियाँ टोलीले सुरुमा दैलेख जिल्लाका विभिन्न चार स्थानहरू पेट्रोलियम पदार्थको खोजीका लागि अन्वेषण गर्न उपयुक्त हुन सक्ने गरी पहिचान गरेको थियो । त्यसपछि अहिलेको स्थानलाई बढी उपयुक्त मानेर त्यसैमा थप अन्वेषणको काम अघि बढाइएको थियो ।

चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाभीस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको अन्वेषणकै क्रममा पत्ता लगाएको थियो ।

त्यहाँ व्यावसायिक रूपमा उत्पादन गर्न सकिने खालको पेट्रोलियम पदार्थको भण्डार रहेछ भने नेपाल सरकारले त्यसको उत्खननका लागि थप काम अघि बढाउनु पर्नेछ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट