Techie IT
Samayabaddha
बुधबार, १७ पुस, २०८१

अखिल क्रान्तिकारीमा उमेर हदबारे विवाद : मत परिणाम रोकियो


काठमाडौंं । अखिल क्रान्तिकारीको उमेर हद ३२ वर्ष लगाउने कि खुल्ला छाडिदिने भन्ने विषयमा गरिएको मतदानपछि मतपरिणामलाई सार्वजनिक गर्न रोकिएको छ । मतदानका क्रममा उमेर हद ३२ वर्ष लगाउने पक्षमा धेरै स्थानमा अग्रता देखिएपछि विवाद उत्पन्न भएको हो ।

गुल्मी र वैतडीमा उमेर हद लगाउने पक्षमा बढी मत आउँदा सुरुमा पुनः मतदान गर्नुपर्ने माग उठाइएको थियो । यसपछि यो विवाद डोल्पा र दैलेखसम्म विस्तार भएको छ ।

लुम्बिनी प्रदेशका धेरै स्थानमा भने उमेर खुला छाड्नुपर्ने पक्षमा एकलौटी मत आएको थियो । उमेर हद लगाउनुपर्ने पक्षले लुम्बिनीमा आएका परिणामप्रति कुनै आपत्ति जनाएन । तर, उमेर खुला हुनुपर्ने पक्षले चार स्थानमा पुनः मतदान गर्नुपर्ने वा ती स्थानका परिणाम खारेज गर्नुपर्ने माग गरिरहेको छ ।

मतदानको प्रक्रिया र परिणामलाई लिएर विवाद गहिरिँदै गएको छ । उमेर हदको पक्षले यसलाई संगठनभित्र अनुशासन र युवाको नेतृत्व विकासका लागि आवश्यक ठानेका छन् भने उमेर खुला हुनुपर्ने पक्षले यसलाई संगठनको लोकतान्त्रिक मूल्यहरूप्रति विरोध भएको ठहर गरेका छन् ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतलाई यो प्रक्रियाको नेतृत्व गर्न पार्टी हेडक्वार्टरले खटाएको छ । तर, उनले खुलेर उमेर हद खुला हुनुपर्ने पक्षमा मत मागिरहेका कारण विवाद थप जटिल बनेको छ । उमेर हद पक्षले बस्नेतप्रति असन्तोष व्यक्त गर्दै उनलाई प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट