Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

पाल्पाको निस्दी गाउँपालिकामा बाघले गोरु मारेपछि सतर्क रहन आग्रह


पाल्पा, १४ पुस । जिल्लाको निस्दी गाउँपालिकामा बाघले गोरु मारेपछि सतर्क रहन आग्रह गरिएको छ । निस्दी –४, भोर्मामा बाघले गोरु मारेपछि स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

स्थानीय देवबहादुर खाम्चाको गोठमा रहेका गोरुलाई शनिबार बिहान ३ बजे बाघले आक्रमण गरेको थियो । प्रहरीका अनुसार एक गोरुलाई गोठबाट २० मिटर टाढा लगेर मारेको र अर्को गोरुलाई गोठमै घाइते अवस्थामा छाडेको थियो । घटनाको प्रकृति हेर्दा गोरु बाघले मारेकोजस्तो देखिएको निस्दी सबडिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्दप्रसाद अधिकारीले बताए ।

मानवीय क्षति हुन नदिन गोठालो जाँदा सचेत रहन र रातिको समयमा हिंडडुल नगर्न अनुरोध गरिएको अधिकारीले बताए । उनले भने, “पाइलाको छाप ठुलो बाघसँग मिल्छ । यस क्षेत्रमा अन्य समय बाघ भेटिएको थिएन” तराईसँग जोडिएक‍ो अरुणखोला निस्दीको भूभाग जोडिएक‍ो छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर आएको बाघ अरुणखोला हुँदै आएको हुनसक्ने भएकाले जनप्रतिनिधि र प्रहरीसँगको समन्वयमा स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।

दुई वर्षअघि पनि बाघले निस्दीको विभिन्न स्थानका पशु चौपाया मारेर क्षति गरेको थियो । वडा नं ४ को झ्याल्टुङ्गमा एउटा गोरु, वडा नं ६ को अर्चलेमा एउटा गोरु, वडा नं ७ मा एउटा पाडा र पाँच वटा गोरु मारेको थियो । बाघको आतङ्क फैलिएपछि बाघलाई नियन्त्रणमा लिने प्रयास गरिएक‍ो थिय‍ो ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट