Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

महेन्द्र लावतीले चारवटा संगठनलाई एकजुट बनाएर गठन गरे ‘पहिचानवादी मोर्चा’


धरान, १४ पुस । कोशी प्रदेश नामाकरणविरुद्ध लामो समयदेखि संघर्ष चलाउँदै आएका पहिचानवादीहरुले ‘पहिचानवादी मोर्चा’ गठन गरेका छन् ।

पाँचथरका राजावादी नेता तथा पूर्वमन्त्री पदमसुन्दर लावतीका छोरा प्रा.डा. महेन्द्र लावतीले चारवटा संगठनलाई एकजुट बनाएर मोर्चा बनाएका हुन् । अन्य पहिचानवादी संघसंस्था र संगठनहरुलाई पनि समावेश गराएर अलग्गै राष्ट्रिय पार्टी गठन गर्ने घोषणा गरिएको छ ।

शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । मोर्चामार्फत संघर्ष चर्काउँदै प्रदेशको नामाकरण पहिचानको आधारमा गराएरै छोड्ने लावतीको रणनीति छ ।

२०७९ फागुन १७ गते तत्कालीन १ नम्बर प्रदेश सभाले दुई तिहाइको आधारमा कोशी प्रदेश नामाकरण गरेको थियो । तर, त्यसप्रति असन्तुष्ट पूर्वका पहिचानवादी संघ संगठनले उक्त नाम खारेजीको माग गर्दै आन्दोलनमा छन् । आन्दोलनको क्रममा एक पहिचानवादीको ज्यानसमेत गएको थियो ।

शुक्रबार गठन भएको मोर्चाले प्रदेश नम्बर १ लेखिएकै ब्यानरमा निरन्तर आन्दोलन र पुनः प्रदेश सभा घेराउलगायतका कार्यक्रम गर्ने घोषणा गरेको छ । मोर्चामा पहिचानवादी मोर्चा, नेपाल जन्मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र प्रदेश नम्बर १ पुनः नामांकन अभियान समिति आबद्ध छन् ।

मोर्चामा आबद्ध नागरिक उन्मुक्ति पार्टी प्रदेश नम्बर १ का अध्यक्ष ज्ञानबहादुर गुरुङ्गका अनुसार आगामी पाँच महिनाभित्र सबै पहिचानवादी संस्था र दललाई समेटेर नयाँ शक्ति निर्माण गरिनेछ । त्यसका लागि पहिचानवादी नेता डकेन्द्रसिँह थेगिमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिले नयाँ पार्टीको विचारधारा, कार्यदिशा, सांगठनिक संरचनालगायतका विषय टुंगो लगाउन दस्तावेजहरु तयार पार्नेछ । नयाँ जनविद्रोहको आधार तय गर्ने जिम्मा पनि सोही समितिलाई दिइएको छ ।

दलित, शिल्पी, मधेशी, आदिवासी जनजाति, मूलबासी, अल्पसंख्यक धर्मावलम्बी, महिला तथा अन्य लैङ्गिक समुदाय, चक्रवर्ती ब्याज, सहकारी ठगी, लघुवित्तलगायतबाट पीडितहरुलाई पनि आन्दोलनमा जोड्ने मोर्चाको योजना छ । एकल जातीय राज्यको अन्त्य, अधिकार सम्पन्न पहिचान, ऐतिहासिक पृष्ठभूमिका आधारमा संघीयता आदि मुद्दालाई मोर्चाले प्राथमिकतामा राखेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट