Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

अखिल क्रान्तिकारीमा उमेर हदको प्रस्ताव पारित, पक्षधर २१ मतले विजयी


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतदानबाट उमेर हद लगाउने प्रस्ताव पारित गरेको छ । उमेर हदको पक्षमा बहुमतले समर्थन जनाउँदै उक्त प्रस्ताव २१ मतको अन्तरले पारित भएको हो । उमेर हद लगाउने पक्षमा नौ सय र खुल्ला हुनुपर्छ भन्ने पक्षमा आठ सय ७९ मत पर्यो । केन्द्रीय नेतृत्व चयनका लागि माघ १२ गते तय गरिएकाे छ ।

उमेर हदको विषयमा व्यापक बहस, विवाद भएको थियो । यस विषयमा सम्मेलन हलमा उमेर हद लगाउनु हुन्न भन्दै खुकुरी प्रदर्शन समेत भएको थियो । उमेर हद लगाउनु पर्ने पक्षले संगठनलाई समयसापेक्ष बनाउनका लागि यो कदम आवश्यक रहेको तर्क गरेका थिए । उनीहरूको भनाइमा नेतृत्वमा पुराना अनुहार दोहोरिनुका कारण नयाँ पुस्ताका लागि ठाउँ कम हुँदै गएको छ । यसले संगठनलाई दीर्घकालीन रूपमा कमजोर बनाउँदै लैजाने खतरा छ ।

यद्यपि, केही सदस्यहरूले उमेर हदको विरोध गर्दै यसले संगठनलाई क्षति पुर्‍याउने तर्क गरेका थिए । उनीहरूको भनाइ थियो कि अनुभव र परिपक्वता विद्यार्थी संगठनको सफल नेतृत्वका लागि महत्त्वपूर्ण छन् ।

अन्ततः मतदानमार्फत उमेर हदको पक्षमा निर्णय गरिएको हो । कुल मतमध्ये २१ मतको अन्तरले यो प्रस्ताव पारित भएको जानकारी प्राप्त भएको छ ।

यस निर्णयसँगै अब अखिल क्रान्तिकारीमा नेतृत्वका लागि उमेर सीमा तोक्ने प्रावधान लागू हुने भएको छ । यो प्रावधानले संगठनभित्र नयाँ पुस्ताको नेतृत्वलाई अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट