Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

पार्टी निर्माणमा इमानदार प्रयत्न र पुस्तान्तरणको महत्वपूर्ण पहल : जनार्दन शर्मा


नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी निर्माण र सुधारका लागि सामाजिक सञ्जालमा आफ्नो प्रतिबद्धता प्रकट गरेका छन् । फेसबुकमा लेखेको स्टाटसमा उनले पार्टी सुधार र निर्माणको प्रक्रिया जोखिमपूर्ण भए पनि यो इमानदारी, विधि, पद्धति र विचारको स्पष्टताका साथ सम्भव हुने धारणा व्यक्त गरेका छन् ।

उनको भनाइमा पार्टी सुधारको प्रयास कुनै पनि फुट वा सत्ताको लालसाबाट प्रेरित छैन । बरु, उनले यसलाई इमानदारीपूर्वक गर्ने प्रतिबद्धता जनाउँदै नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण कमजोर नबनाउने बताए । शर्मा भन्छन्, “एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो ।”

शर्माले हालै सम्पन्न विद्यार्थी संगठनको पुस्तान्तरणलाई ऐतिहासिक र क्रान्तिकारी कदमको रूपमा व्याख्या गरेका छन् । उनले यो प्रक्रियाले झण्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने विश्वास व्यक्त गरेका छन् ।

पार्टीभित्रको सुधार र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको प्रयासले माओवादी केन्द्रलाई पुनः सुदृढ बनाउने उद्देश्य स्पष्ट देखिन्छ । शर्माले नेतृत्वमा नयाँ पुस्ताको हस्तान्तरणलाई समयसापेक्ष निर्णयको रूपमा अगाडि सार्दै यसले पार्टीप्रति जनताको विश्वास पुनःस्थापित गर्ने बताउँदै आएका छन् ।

शर्माको यो अभिव्यक्ति माओवादी केन्द्रभित्र नेतृत्व र संरचनामा व्यापक सुधारका लागि भइरहेको बहसको पृष्ठभूमिमा आएको छ । पार्टीभित्र नेता तथा कार्यकर्ताको भूमिकाप्रति प्रश्न उठिरहेका बेला उनले सुधार र पुस्तान्तरणको कुरा अघि सारेका हुन् ।

 

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट