Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

नेपालमा पुनः एक जनामा मङ्किपक्स पुष्टि


काठमाडौं, १५ पुस । नेपालमा पुनः एक जनामा मङ्किपक्स (एमपक्स) पुष्टि भएको छ । साउदी अरबबाट आएका ४४ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार पिसीआर जाँच गर्दा साउदी अरबबाट आएका एक नेपालीमा एमपक्स पुष्टि भएको हो ।

उहाँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि साउदैबाटै फर्किएका एक जनामा एमपक्स पुष्टि भएको थियो । गत वर्ष एक जनामा विदेशबाट आएका नागरिकमा एमपक्स पुष्टि भएको थियो । योसँगै नेपालमा एमपक्स पुष्टि हुनेको सङ्ख्या तीन पुगेको छ ।

नेपालमा एमपक्स भित्रिएसँगै समाजमा यो रोगबारे त्रास बढ्न थालेको छ । एकपक्स विश्वव्यापी भएपछि विश्व स्वास्थ्य सङ्गठनले दुई वर्षअघि विश्वव्यापी सङ्कटकाल घोषणा गरेको थियो । हाल एकपक्स भारत, पाकिस्तानलगायतका छिमेकी देशमा समेत बढ्दै गएको छ ।

एमपक्स कस्तो रोग हो ?

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार एमपक्स मङ्किपक्स नामक भाइरसका कारणले लाग्ने गर्छ । यो रोग सबैभन्दा पहिला बाँदरहरूमा देखिएकाले यसलाई मङ्किपक्स नाम दिइएको हो ।

यो रोगबाट सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट मानिसमा सर्दछ । प्रत्यक्ष सम्पर्कमा आउँदा वा एकअर्कोलाई छुदा पनि यो रोग सर्न सक्छ । एक व्यक्तिबाट अर्कोमा शारीरिक सम्पर्क, र्‍याल, चुम्बनबाट पनि एक व्यक्तिबाट अर्कोमा सर्ने डा. पुन बताउँछन्

एमपक्सका लक्षणहरू

डा. पुनका अनुसार ज्वरो आउनु, अनुहार, हात, गोडा, आँखा, मुख तथा यौनाङ्गमा बिमिरा आउनु, लिम्फ नोडहरू सुन्निनु, टाउको दुख्नु, मांसपेशी तथा ढाड दुख्नु, शिथिल महसुस हुने एमपक्सका मुख्य लक्षण हुन् ।

यदि एमपक्सका लक्षण देखिएमा के गर्ने ?

भिडभाडभन्दा टाढ रहने, एक्लै बस्ने, परीक्षण गरेर यकिन गर्न चिकित्सकसँग सम्पर्क गर्ने, शरीरमा आएका बिमिरामा खाटा बसेर नयाँ छाला नआएसम्म अन्य व्यक्तिसँग प्रत्यक्ष सम्पर्क र कुनै पनि प्रकारको यौनजन्य क्रियाकलापबाट टाढै रहन चिकित्सकको सुझाव छ ।

एमपक्स एक अर्काको छालाको सम्पर्क वा यौन सम्पर्कबाट सर्ने हुँदा लक्षण देखिएका मानिससँग दूरी कायम राख्न पुनको सुझाव छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट