Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

शेरा दरबार जग्गा प्रकरणमा माओवादी केन्द्रको ध्यानाकर्षण


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नी प्रसाद सापकोटाले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा पार्टी अध्यक्षको नाम जोडेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले केही सञ्चारमाध्यममा प्रकाशित शेरा दरबार प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जोडेर भइरहेको गलत प्रचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।

प्रवक्ता सापकोटाले सामाजिक सञ्जालमार्फत शेरा दरबार जग्गा प्रकरणमा जोडिएका मुख्य व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारी र गतिविधिमा संलग्न नरहेको बताएका छन् ।

यस प्रकरणमा अध्यक्ष प्रचण्डलाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको र प्रमाण तथा तथ्यका आधारमा हुने कानूनी कारबाहीमा आफूहरुको असहमति नरहने सापकोटाले बताएका छन् ।

सो जग्गा प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम जोडिएपछि यस अघि उनका स्वकीय सचिव रमेश मल्लले पनि विकेश श्रेष्ठ अहिले पार्टीको कुनै पनि जिम्मेवारी र सम्पर्कमा नरहेको बताएका थिए ।

अनुसन्धानमा शेरा दरबार जग्गा प्रकरण

गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाका सम्बन्धमा आइतबार गृहमन्त्रालयमा प्रहरी प्रमुख बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई सँगै राखेर जग्गा हिनामिनामा संलग्नहरूमा माथि तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

त्यस्तै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि

मन्त्रालयका सचिव, सहसचिव, भूमि व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०का प्रवक्ता एसपी होविन्द्र बोगटी लगायतसँग छलफल गरी संलग्न पात्रहरूका बारेमा तत्काल थप अनुसन्धान गरी मुद्दा चलाउन निर्देशन दिएका छन् ।

पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गाकाण्डमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पूर्व स्वकीय सचिव विकेश श्रेष्ठको नाम जोडिएको छ ।

पृथ्वीनारायण शाहको पालाको १८४ रोपनी जग्गा पुस्तैनी सम्पत्तिका रुपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी नातनी बुहारी हेलेन शाह र नातिनी जयन्ती शाहको नाममा आएको थियो । तर, भूमि सुधार ऐन (२०२१), मालपोत ऐन (२०३४) लागू भएर कार्यान्वयनमा आउँदा हदबन्दी अनुसार हेलेनको नाममा १२ रोपनी र जयन्तीको नाममा ६ रोपनी ९ आना जग्गा कायम भएको थियो । अब हदबन्दी भन्दा बढी रहेको १६३ रोपनी जग्गा सोझै सरकारको नाममा आउनुपर्नेमा गौरीशंकर फार्मिङ हुँदै अहिले अन्नपूर्ण फार्मिङको नाममा रहेको पाइएको हो । अन्नपूर्ण फार्मिङ विकेश श्रेष्ठको बाबु र छोराको नाममा रहेको पाइएकोले यो अनुसन्धानको विषय बनेको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट