Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ हुँदैन : महामन्त्री थापा


मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने बताएका छन् । ४९ औँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दैे उनले सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा कुनै सत्यता नरहेको बताएका बताएका हुन् ।

महामन्त्री थापाले कांग्रेसमाथि चौतर्फी घेराबन्दी रहेको बताए । कांग्रेस कमजोर बनाउन गठबन्धन र साझेदारी बाहिरबाट घेराबन्दी भइरहेको उनले बताए । उनले कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी भएको दाबी गरे । पटकपटक देशलाई निकास दिँदै आएको कांग्रेसले तत्कालको फाइदा भन्दा पनि संविधान पालनालाई प्राथमिकतामा राखेको उनले बताए ।

महामन्त्री थापाले कांग्रेस अन्य दलहरूको जस्तो मिसन २०८४ को एजेण्डामा नरहेको बताए । राष्ट्रको समस्या हल गर्ने कांग्रेसको भूमिका रहनुपर्ने उनको भनाई छ । दलहरूको कमजोरी र समस्याको भारी संविधान र व्यवस्थालाई बोकाउन नहुने उनले बताए । व्यवस्थाको चिरस्थायीको लागि संविधानको अभ्यास अनुसार पुनरावलोकन गर्नुपर्ने उनले बताए ।

‘संविधानको विधि प्रक्रिया अनुसार सरकारले काम गरिरहेको पनि देशभित्र उकुसमुकुस छ । अहिले नागरिकले विकास समृद्धि र आर्थिक उपार्जनको माग छ । कांग्रेसले अब त्यो माग पूरा गर्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘संविधानमा रहेका कमीकमजोरी सच्याउने र व्यवहारमा ठिक ढंग अघि बढ्न संविधान संशोधन गर्नेगरी सत्ता साझेदार दलहरू बिच संयन्त्र निर्माण भएको छ । सो संयन्त्रले साझा धारणा निर्माण गरेर अन्य दलसँग संवाद गरेर संरचनागत एजेण्डामा छलफल गरिने छ ।’

महामन्त्री थापाले विषेशगरी संविधानले व्यवस्था गरेका समावेशिता, संघीयता लगायतका व्यवस्थालाई खलल पुर्‍याउने विषयमा पुनरावलोकन गर्न कांग्रेस तयार नरहेको बताए । कांग्रेसले निर्वाचन प्रणालीलाई सदृढ गरी ४० प्रतिशत मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्नेगरी छलफल गरिरहेको उनले बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट