एमाले छाडे पूर्वआइजिपी सर्वेन्द्र खनालले

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख (आइजिपी) सर्वेन्द्र खनालले एमाले पार्टी परित्याग गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै खनालले आफू अब कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको घोषणा गरेका हुन् ।
उनले फेसबुक स्टाटसमा लेखेका छन्, “म कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । देश र समाजको हितका लागि परिस्थिति अनुकूल सधैं सक्दो योगदान दिनेछु ।”
खनालले २०७९ को असोजमा एमाले प्रवेश गरेका थिए । त्यसपछि उनले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका थिए । तर, उनले ८,९११ मत ल्याउँदै रास्वपाका शिशिर खनालसँग पराजय व्यहोर्नुपरेको थियो ।
त्यसपछि तनहुँमा भएको उपनिर्वाचनमा पनि एमालेले खनाललाई उम्मेदवार बनाएको थियो । तर, सो निर्वाचनमा पनि खनाल पराजित भए । उनले करिब ८,५०० मत ल्याउँदै तेस्रो स्थानमा सीमित हुनुपरेको थियो ।
खनालले आफ्नो पार्टी परित्यागको घोषणा गरेपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया र विश्लेषण भइरहेको छ ।
सर्वेन्द्र खनाल नेपाल प्रहरीबाट अवकाश पाएपछि राजनीतिक यात्रामा प्रवेश गरेका थिए । तर, दुई निर्वाचनमा निरन्तर असफलतासँगै उनले राजनीतिक यात्रा पुनः मूल्यांकन गर्ने निर्णय लिएकाे देखिन्छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया