कारागारका कारण जनताको उठिवास !
– योगेश खपाङ्गी
बिर्तामोड । झापा जिल्ला कारागार, चन्द्रगढीले फोहोर व्यवस्थापन नगरिदिँदा स्थानीय जनताले हैरानी खेप्नु परेको छ । जेलको ढलबाट ‘ओभरफ्लो’ भएर मलमूत्र सहितको लादी जेलको पूर्वतर्फको टोलमा छिरेपछि दुर्घन्ध फैलिएर स्थानीयबासीलाई स्वास फेर्ने समस्या परेको छ भने त्यस पूर्वको कयौं विघा बासस्थानयोग्य र खेतीयोग्य जमिन फोहरको आहाल भएको छ ।
चन्द्रगढी कारागारको कैदी राख्ने क्षमता पाँचसय जनाको मात्र हो । हाल दुई नयाँ विलिङ बनेपछि थप दुई सयजना राख्न सकिने क्षमताको रहेको छ । तर, क्षमताभन्दा बढी कैदी महिला, पुरुष र केटाकेटी गरेर १७ सय ७७ जना राखिएपछि कारागारले थप समस्या निम्त्याएको हो । थपिँदो मात्राको कैदीबन्दी, दुई/अढाइसयजनाको हाराहारीमा रहेका सुरक्षाकर्मी र कर्मचारी तथा दैनिक दुई/तीनसय जनाको अनुपातमामा कैदी भेट्न आउने आगन्तुकहरूले त्यागेका मल र मुत्रको लेदो ढलको व्यवस्थापन नगरि सिधै सर्वसाधारणको खेतबारीमा छोडिएको छ ।
कारागारले सुकुम्बासी बनायो :
बिगत दश वर्षदेखि आफ्नो जग्गामा काराकारको ढल छिरेपछि अहिले कारागार संघर्ष समितिका संयोजक समेत रहेका स्थानीयवासी दिपेन्द्र दाहालको हरिबिजोग भएको छ । उनको नाममा जग्गा त छ तर त्यसमा ढलको पोखरी भएपछि त्यो जग्गा आकाशको फल, आँखा तरि मर भनेजस्तो भएको छ । बाह्रै मास, रातैदिन निरन्तर मलमूत्रको अविरल धाराले उनको जग्गा फोहोरी पोखरीमा परिणत भएको छ । उनि आफ्नो जग्गा देखाउँदै भन्छन्, ‘यै हो मेरो जग्गा । यहाँ घर बनाएर बस्न सकिएको छैन । एउटा कटेरो मात्र हालेर बस्न पाएपनि आनन्द हुन्थ्यो । यहाँ मेरो एक कट्ठा जग्गा छ । तर, आफ्नो जग्गा भएर पनि म सुकुम्बासी बनेको छु । महिनाको पैतीस सय तिरेर बाहिर कोठा लिएर बसेको छु ।’
उनले यस विषयमा कारागार प्रशासनसँग पटक–पटक गुनासो गरेका छन् । तर, प्रत्येक पटक कारागार प्रमुख (जेलर) फेरिरहने हुनाले हरेकलाई फेरि सुरुबाट आफ्नो समस्या सुनाउनु परेको दुखेसो उनले सुनाए ।
खेती पनि हुँदैन, जग्गा पनि बिक्दैन :
निरन्तर बगिरहने ढल र त्यसको तिब्र गन्धको कारण स्थानीयवासीले नर्कसमान जीवन बाँच्नुपरेको बताएका छन् । ‘ढल भरिएको जग्गा कौडीको भाउमा बेच्न खोज्दा पनि कोही किन्न आउँदैनन् । ‘फ्रि’मा लैजाओ भन्दा पनि नलैजाने अवस्था छ । खेतीपाती त झन् यो जग्गामा गर्नेसकिँदैन ।’, स्थानीयवासीले बताए ।
स्वास्थमा पनि समस्या :
फोहोरका कारण स्थानीय बच्चाहरूमा स्वासप्रश्वासजन्य समस्या उत्पन्न भएको छ । ठूलो मान्छेहरूले पनि गन्धको कारण खाना खान मन नलाग्ने हुनाले शारिरीक रुपमा कमजोरी उत्पन्न भएको छ ।
पाहुना पनि नआउने, बिहेबारी गर्नै समस्या :
वर्षौदेखि दुर्घन्धमा बस्न बाध्य स्थानीयवासीलाई ‘गाँडमाथी पिलो’ भने झैं भएको छ अहिले । दुर्घन्धित ठाउँका कारण घरमा कोही परपाहुना, साथीभाई पनि आउन मान्दैनन् भन्दै बिहेवारीमा पनि समस्या भएको स्थानीयले बताए । उनिहरू भन्छन्, ‘यस्तो दुर्घन्धित ठाउँमा कस्ले आफ्नो छोरीचेली दिन्छ र ! हामीलाई त यो घर–जग्गा टोक्नु न बोक्नु भएको छ ।’
फोहोरसँगै ध्वनी प्रदुषण उत्तिकै :
फोहोरको समस्या त छँदै छ । त्यसमाथी कारागारले बिहानको सात बजेदेखि बेलुकीको सात बजेसम्म निरन्तर माइकिंग गरिरहँदा स्थानीयवासीलाई समस्या माथि समस्या थपिएको छ । नजिकै रहेको विद्यार्थीलाई पनि चर्को माइकिंङका कारण समस्या भइरहेको छ ।
नेताहरू आउने तर आश्वासन मात्र दिने :
सो समस्याका बारेमा स्थानीयवासीले झापा जिल्ला प्रशासन कार्यालयका प्रमुख, भद्रपुर नगरपालिका प्रमुख लगायत कयौं नेतालाई हारगुहार गरेको तर कसैले यस विषयलाई गम्भीरतापूर्वक नलिएको स्थानीयवासीले सुनाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एकपटक २० लाख रुपियाँ दिएको तर नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा र प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे लगायतले पनि आश्वासन मात्र दिएता पनि काम केही नगरिदिएको स्थानीयको गुनासो छ । सो समस्याको तुरुन्तै समाधान गरिदिने भन्दै कयौं नेताहरु आउने तर फर्केर गएपछि चासो नलिने गर्नाले आफूहरु आजित भएको संघर्ष समितीका अध्यक्ष दाहालले सुनाए ।
बिसौं वर्ष बित्यो, समस्या जहाँको त्यहीं :
तत्कालीन चन्द्रगढी गाउँ विकास समिति प्रमुख दुर्गाप्रसाद भट्टराईले २४/२५ सालदेखि त्यहाँ काराकार बनेदेखि नै त्यो समस्याको सुरुवात भएको र आफूले पनि समाधानको लागि धेरै प्रयत्न गरेको तर काम कतैबाट हुननसकेको बताए । उनि भन्छन्, ‘तत्कालीन आठ नम्बर वडामा रहेको जेलपूर्वपट्टीको गग्गाको मुआब्जा दिने कुरामा गाविसको मात्र होइन, बोर्डको निर्णय भयो, जिल्ला परिषद्को पनि त्यो कुरालाई अनुमोदन गर्दै निर्णय भयो, गृहमन्त्रालय सम्म पनि यस कुराको लागि आवाज उठाइयो । नेकपा एमालेका नेता तथा तात्कालिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री माधवकुमार नेपाललाई पनि हामीले फाइसहित लग्यौं (बुझायौं) । त्यसपछि ०५२ सालको भदौ १२ गते मनमोहन अधिकारीको अध्यक्षतामा गठित सरकार ढले पछि त्यो कार्वाहीहरूमा पनि पूर्ण बिराम लागेको महशुस भएको छ ।’
कारागार प्रमुखको लाचारी :
चन्द्रगढी कारागारका प्रमुख रेवन्त दाहालले आफूहरू यो समस्यामा जानकार भएको तर सानोतिनो रकमले यो समस्या समाधान गर्न नसकिने हुनाले बजेट अभावले आफुले केही गर्न नसकेको स्विकारे । गाउँलेहरूले अब आफै रकम जोहो गरेर जेलबाहिर पर्खाल लगाउने चेतावनी दिँदा हात जोड्दै त्यसो नगर्न अनुरोध बाहेक आफूले केही गर्न नसक्ने लाचारी व्यक्त गरे ।
भद्रपुर नगरपालिका प्रमुखको भनाई :
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेलले उक्त कारागारको क्षमता पाँच सय व्यक्तिको मात्र रहेको तर अनुमानित १६/१७ सयजना कैदी त्यहाँ राखिएको हुनाले समस्या भएको बताए । उनि भन्छन्, ‘गत वर्ष त्यहाँको फोहोर व्यवस्थापनका लागि भनेर नगरपालिका तर्फबाट हामीले दशलाख रुप्या पैसा पनि छुट्याएका थियौं । हामीले दिएको पैसाले पनि केही काम गर्न वहाँहरूले प्रयत्न गर्नुभयो, तर सम्भव भएन । यसको अब दिर्घकालीन उपाय खोज्नुपर्छ । यो कारागार अव्यवस्थीत भयो, यसको विकल्प खोज्नुपर्छ । एकपटक कलबलगुडी तिर अथवा गरामनी क्षेत्रमा लैजाने भन्ने पनि सुनिएको हो । तर त्यसको ठोस कार्ययोजना बनाएको छैन ।’ उनले अगाडी भने, ‘यो संघीय सरकारसँग सम्बन्धित कुरा हो । हामीले घच्घच्याउने काम गरिरहेका छौं ।
एयरपोर्ट नजिकै छ, दूर्घटना हुने खतरा :
कारागारको बिल्कुलै नजिकै चन्द्रगढी बिमानस्थल छ । कारागारले बगाएको फोहोरमा आकर्षित भएर चराचुरूंगी उड्नसक्छन् । सोही कारणले भोली कुनै दूर्घटना भए को जिम्मेवार बन्ने ? यो समस्यालाई समाधान गर्न अब ढिला गर्नुहुँदैन ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया