विवादास्पद श्रीकेश आयलः सम्मानित व्यक्तित्वको दुरुपयोग र उपभोक्तामाथि ठगी
सप्तऋषि ओएल एन्ड कस्मेटिक इण्डष्ट्रीबाट उत्पादित श्रीकेश आयलका एक उत्पादकले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एउटा बोतल थमाउँछन । बसेको सिटबाट उठेर पूर्व राष्ट्रपति भण्डारीले ठट्टा पारामा सुरुमा प्रतिक्रिया दिन्छिन् । त्यसपछि अगाडि भन्छिन, ‘तपाईंसँग भेट नभए पनि म यसको (तेलको बोतल देखाउँदै) नजिकबाट हेरिरहेको छु । सफलताको धेरै शुभकामना !’
त्यसपछि लगत्तै विज्ञापन सुरू गरिन्छ, ३२ जडिबुटीले युक्त कपाल झर्नबाट रोक्ने, नयाँ कपाल उमार्ने, कालो कपाल बनाउने श्री केश जडिबुटी हेयर आयल ।
पछिल्लो समय वरिष्ठ कलाकारदेखि प्रधानमन्त्री हुँदै पूर्व राष्ट्रपतिसम्मकाे हातमा बाेकाएर यो तेलकाे विज्ञापन गरिन्छ । यसलाई धेरैले कम्पनीको व्यावसायिक स्वार्थ पूर्तिका लागि सम्मानित र समाजमा स्थापित लोकप्रिय व्यक्तित्वलाई गरेको दुरुपयोगको रूपमा लिएका छन् ।
पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्तित्वलाई एक विवादास्पद तेल कम्पनीले आफ्नो उत्पादनको विज्ञापनका लागि मोडलको रूपमा प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले कम्पनीको आफ्नो फेसबुक पेज आदिमा प्रयोग गर्न मिल्ने बताउँछन । एउटा विवादित कम्पनी, जसलाई काठमाडौं महानगरपालिकाले समेत अवैध भनिसकेको छ, सम्बन्धित, सरोकार निकायमा समेत दर्ता नभएको सामानको प्रचारप्रसार गर्न राज्यको जिम्मेवार निकाय विज्ञापन बोर्डले रोक्नु पर्दैन भनेर प्रश्न गर्दा हुमागाई अगाडि भन्छन, ‘सम्मानित व्यक्तित्वलाई अगाडि सारेर विभिन्न मिडियामा प्रचार गरे मात्र रोक्ने हो, आफ्नै फेसबुक पेजहरुको विज्ञापन रोक्ने विज्ञापन बोर्डको क्षेत्राधिकार होइन ।’
विवादास्पद श्रीकेश आयलको विज्ञापन स्थापित थुप्रै मिडियामा व्यापक प्रचारप्रसार भइरहेको छ । तर, आफ्नो क्षेत्राधिकार वाहिर पनि सुँढ घुसार्ने विज्ञापन बोर्ड यसमा विल्कुलै अनदेखा गरिरहेको छ । समानुपातिक विज्ञापन, विज्ञापनमा एकद्वार प्रणाली लागू गर्न बनाइएको विज्ञापन बोर्डले साना स्वरोजगारमूलक मिडियाले पाउँदै आएको रकम समेत कटौती गरेको छ । छापा मिडियाले पाउँदै आएको मदिरा लगायतको विज्ञापनमा समेत बोर्डले लडेर रोकेको छ । केही ठूला लगानीका मिडियाको पक्षमा विज्ञापनको सिण्डिकेट बनाउन सहयोग गर्ने बोर्डले जनस्वास्थ्यलाई गम्भीर असर पार्ने भनेर महानगरपालिकाले निर्णय गरिसकेपछि पनि श्रीकेश आयललाई रोक्न कुनै चासो देखाएको छैन । यसले बोर्डको भूमिकामा नै सन्देह पैदा भएको छ ।
काठमाडौँ महानगरपालिकाले श्रीकेश आयल उत्पादन गर्ने सप्तऋषि ओएल एन्ड कस्मेटिक इण्डष्ट्रीलाई भदौ महिनामा दुई लाख रुपैयाँ जरिवाना गरेको थियो । महानगरले गुणस्तर पुष्टि गर्न नसकेको भन्दै तेललाई अवैध घोषित गरी उत्पादन हुँदै आएको कारखानामा ताला लगाएको थियो ।
कम्पनीका प्रतिनिधि गणेश थापाले यसबारे प्रतिक्रिया दिदैँ भने, ‘पुरानो स्टक कसैले बेचेको हुन सक्छ र पुरानै सम्झौताअनुसार विज्ञापन प्रसारण गरिएको होला । तर, अहिले यो तेलको उत्पादन रोकिएको छ ।’
तर, अवैध सामग्रीको रूपमा पहिचान गरिएको तेलको प्रचारप्रसारलाई रोक्न प्रयास नगर्नु र पूर्व राष्ट्रपति जस्तो उच्च सम्मानित व्यक्तित्वलाई यसमा मोडलका रूपमा प्रयोग गर्नु कति ठीक हो भन्दा ‘पुरानै कुरा होला, म यसबारेमा बुझेर भन्छु’ भनेर थापा जवाफ दिनबाट पञ्छिए ।
महानगरपालिकाले तयार पारेको प्राविधिक विश्लेषण प्रतिवेदनले तेलको गुणस्तरमा गम्भीर प्रश्न उठाएको थियो । प्रतिवेदनमा तेल उत्पादनका लागि प्रयोग गरिएका कच्चा पदार्थ र जडीबुटीहरूको वैज्ञानिक परीक्षण प्रमाणित हुने कागजात उपलब्ध नगरिएको उल्लेख छ ।
त्यस्तै, तेलमा प्रयोग गरिएका जडीबुटी र रसायनको मानव स्वास्थ्यमा पर्ने प्रभावबारे कुनै क्लिनिकल ट्रायल वा वैज्ञानिक अध्ययन नभएको देखिएको छ । तेलको लेबलमा उल्लेख गरिएका फाइदाहरू—कपाल झर्ने समस्या समाधान, नयाँ कपाल उम्रन सहयोग, चायाँ नियन्त्रण आदि—कुनै पनि प्रमाणित आधार नभएको प्रतिवेदनमा जनाइएको छ ।
दर्ता छैन औषधि व्यवस्था विभागमा
आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डा. रुपेन्द्र पुरीका अनुसार श्रीकेश तेलबारे आफूहरुलाई कुनै जानकारी छैन । उनले भने, “यो तेल उत्पादन र विक्री वितरण गर्न औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ । तर, सप्तऋषि आयुर्वेद नामको संस्था औषधि व्यवस्था विभागमा दर्ता नै भएको छैन । हामीले यहाँ दर्ता गरिसकेपछि मात्र यस्तो औषधि उत्पादन र यसको चेकजाँच गर्न सकिन्छ ।”
आयुर्वेद चिकित्सा परिषद ऐन २०४५ (तेस्रो संशोधन २०७४) अनुसार आयुर्वेद चिकित्सा व्यवसाय सञ्चालन गर्न दर्ता नभएका चिकित्सकलाई व्यवसाय गर्न अनुमति छैन । ऐनको दफा ५.१.१ अनुसार दर्तावाला चिकित्सकबाहेक अन्य कसैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आयुर्वेद चिकित्साको व्यवसाय सञ्चालन गर्न पाउने छैनन् । तर, सञ्चालक टीकाराम बुढाथोकी चिकित्सक नभए पनि आयुर्वेद चिकित्साको नाममा श्रीकेश तेल उत्पादन गरी विक्री वितरण गर्दै आएका छन् ।
भ्याट छली
उत्पादक कम्पनी सप्तऋषि आयुर्वेदले प्रति बोत्तल तीन हजार रुपैयाँमा श्रीकेश तेल बिक्री गरिरहेको छ । तर, तेल खरिद गर्ने ग्राहकलाई भ्याट बिल उपलब्ध गराइँदैन ।
सञ्चालक टीकाराम बुढाथोकीमाथि यसअघि पनि विभिन्न रोग निको पार्ने दाबी गर्दै भ्रम फैलाएर औषधि बिक्री गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी परेको थियो । तर, आफ्नो राजनीतिक पहुँच र प्रभाव देखाएर उनले बारम्बार कानुनी कारबाहीबाट बच्दै आएका छन् ।
वास्तवमा श्रीकेश आयलको विवादले नेपालको उपभोक्ता संरक्षण र नियामक प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ । अवैध रुपमा उत्पादन भई प्रचारप्रसार भइरहेको यस तेलले गुणस्तर र वैज्ञानिक प्रमाणित आधारविना कपाल झर्ने समस्याको समाधान दाबी गर्दै ठगी गरेको देखिन्छ । सम्मानित व्यक्तित्वहरूलाई मोडलका रूपमा प्रयोग गरी कम्पनीले व्यावसायिक स्वार्थ पूर्ति गरिरहेको छ ।
यस विवादमा सम्बन्धित सरकारी निकायको भूमिकामा समेत प्रश्न उठेको छ । गुणस्तरहीन उत्पादनमा रोक लगाउने दायित्व भएका निकायहरू निष्क्रिय देखिएका छन् । साथै, विज्ञापन बोर्डले विवादित उत्पादनको प्रचारप्रसारलाई रोक्न चासो नदेखाउनु चिन्ताजनक छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया