Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

भूकम्पका कारण चीनमा साढे १ मिटरभन्दा बढी तलसम्म जमिन भासियो


भूकम्पसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले हिजो चीनको तिब्बतमा गएको भूकम्पका कारण साढे एक मिटरभन्दा बढी तलसम्म जमिन भासिएको बताएका छन् ।

भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञानिक जिआङ हाइकुले सरकारी टेलिभिजन सीसीटीभीसँग कुरा गर्दै भूकम्पका कारण केन्द्रविन्दुबाट ८० किलोमिटरको दूरीसम्म जमिन एक दशमलव ६ मिटरसम्म तल भासिएको दाबी गरेका बीबीसीले जनाएको छ ।

हिजो बिहान गएको भूकम्पका कारण एक सय २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २४ घण्टामा पाँच सय पटकभन्दा धेरै परकम्प गएका चिनियाँ समाचार संस्थाले जनाएका छन् ।

तिब्बतमा इन्टरनेटको पहुँचमा चीन सरकारले नियन्त्रण गरेकाले सञ्चारकर्मीहरू चीन सरकारको अनुमति नलिई त्यहाँ जान पाउँदैनन् । अहिलेसम्म प्राप्त सबैजसो सूचनाको मुख्य स्रोत चिनियाँ सरकारी सञ्चारमाध्यम हो ।

भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ नजिकै रहेको अतिप्रभावित शिगात्सेमा राति तापक्रम माइनस १८ डिग्री सेल्सिअस पुगेको थियो । शिगात्सेका अधिकारीहरूले तीन हजार ६ सय वटाभन्दा धेरै भवन भत्किएका र हजारौं मानिस बेघर भएको अनुमान गरेका छन् । सरकारको स्वामित्वमा रहेको पिपल्स डेली पत्रिकाका अनुसार तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

केन्द्रविन्दु नजिकै रहेको टिङ्ग्री काउन्टीमा विद्युत् आपूर्ति हुन थालेको छ भने मोबाइल फोन सेवा सञ्चालन भएको छ । टिङ्ग्री चीनतर्फबाट सगरमाथा अवलोकन वा आरोहण गर्नेका लागि लोकप्रिय ठाउँ हो । भूकम्पपछि त्यहाँबाट सगरमाथा हेर्न बनाइएका कार्यक्रमहरू स्थगित गरिएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट