Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

रविसहित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेकाको आज आदेश आउने सम्भावना


पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको मुद्दामा आज आदेश आउने सम्भावना देखिएको छ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जवाफी बहस सक्ने तयारी गरेकोले जिल्ला अदालतबाट आजै आदेश आउने संभावना रहेको अदालत स्रोतले बताएको छ ।

सो मुद्दामा रविसहित पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायतको सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिलले बहस गरेपछि आदेश आउन संभावना रहेको कास्की अदालत स्रोतले बताएको छ ।

बहसपछि अदालतबाट आउने आदेशमा प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि मुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

सोमबार र मंगलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए । यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए ।

प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको थियो । त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुनेछ । जवाफी बहस सकिएपछि आदेश आउने छ ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

थुनछेक आदेशको समय आएसँगै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट