Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

आफूलाई तारेखमा छोड्न रवि लामिछानेद्वारा न्यायाधीशलाई आग्रह


पोखरा, २५ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छोड्न न्यायाधीशलाई आग्रह गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीको इजलासमा सभापति लामिछानेले सहकारी प्रकरणमा आफू पनि पीडित भएको र बाहिरै बसेर मुद्दा लड्न पाउने गरी छोड्न आग्रह गरेका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकार वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीश नितिज राईले प्रतिवादीहरूलाई के भन्नु छ भनेर सोधेका थिए । त्यसपछि प्रतिवादीका तर्फबाट लामिछाने बोलेका हुन् ।

लामिछानेले आफूलाई तारेखमा छोड्न र बाहिर बसेर मुद्दा लड्ने व्यवस्था गर्न आग्रह गरेका हुन् । ‘म पनि सहकारी प्रकरणको पीडित हुँ । बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्,’ उनले भने । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो दल रास्वपाले सहकारी पीडितका पक्षमा अन्य दलहरूभन्दा धेरै काम गरिरहेको पनि बताए ।

‘सहकारी पीडितका पक्षमा अन्य दलभन्दा रास्वपाले धेरै काम गरिरहेको छ,’ लामिछानेले भने, ‘थुनाबाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरु हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा केके गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’

सरकारी वकिलहरूको बहस सकिएपछि सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेसहितलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छोड्ने भन्ने आदेश जिल्ला अदालतले दिने छ । अदालतको आदेश आजै आउने सम्भावना छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट