Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

कानूनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालयलाई सुधार्छु : शिक्षामन्त्री भटट्राई


काठमाडौँ, २५ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालय सुधार्ने बताएकी छन्।

बिहीवार काठमाडौँमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को साक्षात्कारमा उनले यस्तो बताएकी हुन्। उनले सबै विश्वविद्यालयहरू सुधार्न आवश्यक भए पनि सबैभन्दा पहिले त्रिभुवन विश्वविद्यालयको सुधार गर्नुपर्ने बताइन्। उनले विश्वविद्यालयहरूमा देखिएका समस्या समाधान गर्न सबैभन्दा ठूलो भूमिका पदाधिकारीहरुले खेल्नुपर्ने बताइन्।

विश्वविद्यालयका पदाधिकारीहरु राजनीतिक विचारसँग आबद्ध भएकाले नेतृत्वदायी भूमिका खेल्न नसकेको उनको बुझाइ छ। उनले राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसाबले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरुको बुझाइ रहेको बताइन्। उनले विश्वविद्यालयको सुधारका लागि सबैको सहयोग र सहकार्य आवश्यक भएको बताइन्।

उनले अनुदान आयोगलाई विश्वविद्यालयसँग सम्पर्क र समन्वय गर्ने संस्थाका रूपमा विकास गरेको दाबी गरिन्। आफू मन्त्री भइसकेपछि विश्वविद्यालयको सुधारका लागि आयोगसँग पटक पटक छलफल राखेको पनि बताइन्।

शिक्षामन्त्री भट्टराईले भनिन्, ‘विश्वविद्यालयमा जाने पदाधिकारीहरू कहीँ न कहीँ राजनीतिमा संलग्न हुनुहुन्छ। पद भनेको राजनीतिले मात्र निर्माण गर्छ भन्ने बुझाइ स्थापित गरेका छौं। सबै विश्वविद्यालय सुधार्ने हो‚ सबैभन्दा पहिला त त्रिभुवन विश्वविद्यालय सुधार्नुपर्छ। त्यसका लागि परिवर्तन गरेर भए पनि सुधार्नुपर्छ हो।’

विश्वविद्यालयको सुधारका लागि सहयोग गर्न सरकार सधैं तत्पर रहेको उनको भनाइ छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट