Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अधिकृतविरुद्द भ्रष्टाचार मुद्दा


काठमाडौं । मुद्दा मिलाइदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा त्यही पदमा कार्यरत ध्रुवप्रसाद सापकोटाविरुद्द आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सापकोटासँग जोडिएको एउटा मुद्दामा अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए । अनुसन्धान अधिकृतले आफैंले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रुपैयाँ रकम रहेको अख्तियारले जनाएको छ ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटा अख्तियारको कञ्चनपुर कार्यालयबाट पक्राउ परेका थिए ।

अख्तियारले प्रमुख प्रशासकीय अधिृकत सापकोटासँग घुस रकम बराबरको बिगो माग गरी मुद्दा दायर गरेको जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट