Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् ।

अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् । लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने शर्तमा रिहा गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले हिजो बेलुकी रविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए । रिहा भएपछि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिएका छन् ।

गएराति फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले न्यायालयप्रति सम्मान गर्ने बताए ।

रास्वपाका नेता दीपक बोहराको फेसबुक लाइभमा देखिएका उहाँले बोल्ने समय आएपछि नबोल भने पनि बोल्ने प्रतिक्रिया दिए । उनले लडाइँ अझैँ बाँकी रहेको र न्यायालयप्रति आफू विशेष आभारी रहेको प्रतिक्रिया दिए ।

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट