पेपेः सादा जीवन र उच्च विचारका प्रेरणादायी नेता
उरुग्वेका पूर्व राष्ट्रपति होजे अल्बर्टो “पेपे” म्युजिका कोर्डानोको जीवनले संसारलाई सादगी र निष्ठाको महत्वपूर्ण सन्देश दिएको छ । उनी सादा जीवन र उच्च विचारका प्रतीकमात्र होइनन्, नागरिकको हितलाई सर्वोपरी मान्ने नेतृत्व हुन् । छापामार लडाकू, बन्दी, राष्ट्रपतिको भूमिकामा रहेका पेपेको सादा जीवन साँच्चै अद्वितीय छ ।
पेपे भन्छन, “किफायतमा बाँच्नु नै सबैभन्दा ठूलो शक्ति हो । धेरै उपभोग गर्ने बानीले मानिसलाई दास बनाउँछ ।” उनले यो विचार आफ्नो जीवनशैलीमा उतारे । राष्ट्रपतिका रूपमा उनले आफ्नो तलबको ९० प्रतिशत गरिब, पीडित र साना उद्यमीलाई दान गरे । राष्ट्रपति भवनमा बस्न अस्वीकार गर्दै आफ्नो सानो घरमा बसे । उपहारस्वरूप प्राप्त महँगो गाडीलाई बेचेर गरिबहरूको सहयोगमा खर्च गर्ने निर्णयले उनको सादगीपन र निष्ठा झल्काउँछ ।
सन् १९३५ मा किसान परिवारमा जन्मिएका पेपेको जीवन संघर्षमय रह्यो । सानैमा उनको पिताको निधनपछि परिवार आर्थिक संकटमा परे पनि सामाजिक न्यायका लागि उनी सधैं प्रतिबद्ध रहे । क्युबाली क्रान्तिको प्रेरणाले सन् १९६० को दशकमा उनी छापामार समूह टुपामारोसमा सामेल भए । सैन्य तानाशाहीविरुद्ध लड्दा १४ वर्ष एकान्तवासमा, कठोर यातनासहित जेलमा बसे । चर्काे यातना र स्वास्थ्य समस्याका बाबजुद उनी आफ्नो उद्द्ेश्यमा झन् दृढ बने ।
तानाशाही शासनको अन्त्यसँगै सन् १९८५ मा जेलमुक्त भएका पेपे लोकतान्त्रिक राजनीतिमा प्रवेश गरे । वामपन्थी मोर्चाबाट संसद सदस्य र मन्त्री हुँदै सन् २०१० मा उरुग्वेका राष्ट्रपति बने । उनको कार्यकालमा देशले सामाजिक स्थिरता र आर्थिक विकासको नयाँ आयाम थप्यो । जनताप्रतिको समर्पण, पारदर्शिता र सादा जीवन नै उनको नेतृत्वको विशेषता थियो । महँगा महल र विलासी जीवनशैलीलाई अस्वीकार गर्दै उनले आफूलाई गरिब र श्रमिक वर्गको सेवामा समर्पित गरे । उनलाई “संसारकै सबैभन्दा गरिब राष्ट्रपति” भनिन्थ्यो तर यो गरिबी होइन कि सादगीको प्रतीक थियो ।
उनको नैतिक बलका कारण उनी विश्वका सबैभन्दा शक्तिशाली अमेरिकी राष्ट्रपतिसमक्ष आफ्ना विचार स्पष्ट रूपमा राख्थे । उनको नैतिक बलले खिचेकाले उनीहरु ध्यानमग्न भएर उनका विचारहरु सुन्थे । युट्युबमा उनका प्रेरणादायी भाषण र विश्व नेताहरूसँगका संवादहरु उपलब्ध छन् ।
पेपेले छापामार लडाइँबाट संसदीय राजनीतिमा प्रवेश गरेर जीवनकै ठूलो परीक्षा पास गरे । नेपाल, भारत, बंगलादेशजस्ता देशका सशस्त्र पृष्ठभूमिबाट आएका नेताहरूले पेपेको जीवनबाट धेरै सिक्न सक्छन् । उनको जीवन वैचारिक स्पष्टता, निष्ठा र पारदर्शिताको पाठ हो ।
आजको संसारमा जहाँ भ्रष्टाचार र चाटुकारिताले राजनीति दूषित बनाएको छ, पेपेको नेतृत्वले सादगी, इमान्दारिता, पारदर्शिता, स्वाभिमानको महत्वलाई उजागर गर्छ ।
नेपालका वामपन्थीले पेपेबाट सिकेर कार्यान्वयन गर्ने कुरा धेरै छन् । कर्म र वाणीबीचको अन्तरविरोधका कारण वाहिरको त कुरै छाडौं आफ्नै पार्टीहरुभित्र पनि अविश्वासको वातावरण झाङ्गिएको अवस्था छ । टुपामारोसले सशस्त्र संघर्षका महत्वपूर्ण एजेण्डालाई लोकतान्त्रिक माध्यमबाट संस्थागत गरे तर नेपालका कम्युनिष्टहरुले सत्ता केन्द्रित सोचबाट आफूलाई अलग गर्न सकेनन् ।
नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र जनताको विश्वास जित्ने गरी जीवनशैली अपनाउन जरुरी छ । समाजवादका एजेन्डालाई प्राथमिकता दिन वैकल्पिक आर्थिक प्रणाली, न्यायपूर्ण सामाजिक संरचना र प्रगतिशील संस्कृतिको विकासमा जोड दिनुपर्छ । किसान र मजदुरको हितलाई सर्वाेपरी राखेर उनीहरुसँग गाढा नाता पुनस्र्थापित गर्न अत्यावश्यक छ ।
सादा जीवन र उच्च विचारका जीवित उदाहरण पेपेको जीवनले देखाएको सत्य के हो भने सफलता भौतिक सम्पत्तिमा होइन, जनताको विश्वास र सेवामा निहित छ । “किफायतमा बाँच्नु नै सबभन्दा ठूलो शक्ति हो” भन्ने उनको भनाइले आजको समाजमा झन् गहिरो प्रभाव पार्न सक्छ ।
कर्म र शब्दबीचको अन्तरविरोध समकालीन नेपाली राजनीतिमा असाध्य रोग हो । यो सामान्य अपरेशनबाट मात्र सम्भव देखिदैंन । यसको सुधारमा तत्काल पाइला नचाल्ने हो भने नेपाल असफल राष्ट्रतिरको ओरालो यात्रामा तीब्र गतिमा जानेछ ।
पार्टीभित्र निकै लामो दवावपछि माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको वैठकले केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण र आयआर्जनको स्रोत पार्टीमा अभिलेखीकरण गर्न गरेको निर्णय पार्टी सुधारका लागि एउटा प्रयास हो । थुप्रै नेताहरुको भड्किलो जीवनशैलीले पार्टीको छवि बिगारेको महसुस गर्दै यो कदम चालिएको हो । तर, सुधारका लागि औपचारिक निर्णय मात्र पर्याप्त हुँदैन । यस्ता निर्णयहरु यसअघि पनि धेरै पटक भए तर कार्यान्वयन भएनन् । पार्टीको केन्द्रीय नेताले स्रोत नखुलाई कमाएको अकुत सम्पत्ति पार्टीकरण, राष्ट्रीकरण गर्ने प्रक्रिया सुरु गरे मात्र पनि जनतामा नयाँ विश्वासको पालुवा पलाउन सक्छ ।
आधारभूत वर्गले सबैभन्दा बढी विश्वास गरेका कम्युनिस्ट पार्टीको नेतृत्व भनेको सादगी, इमान्दारी र आदर्शको प्रतीक हुनुपर्छ, न कि भड्किलो । भड्किलो जीवनशैली त्यागेर साधारण जीवन अपनाउनु र पार्टीप्रतिको इमान्दारी बढाउनु आवश्यक छ । सुधार औपचारिक निर्णय, दवावले भन्दा पनि स्वेच्छिक आचरणमा प्रतिबिम्बित भएमा नै दिगो बन्नेछ । पारदर्शिता, इमान्दारिता, स्वाभिमान नै जनताको विश्वास जित्ने आधार हो । यसैलाई जीवन व्यवहार बनाएका पेपे हाम्रा मार्गदर्शक हुन सक्छन ।
युद्धले थिल्थिलिएको र ऋणको चपेटामा परेको उरुग्वेमा वामपन्थी नेतृत्वहरुबीचमा सादा जीवनका लागि प्रतिस्पर्धा नै चल्यो । परिणाम, वामन्थीहरुको संयुक्त सरकारले एक दशक नपुग्दै उरुग्वेको अर्थतन्त्रलाई शक्तिशाली बनायो । यो उदाहरणबाट सिकेर नेपालमा कुनै एउटा मुख्य दलको मुख्य नेताले सादा जीवनशैली अपनाउने हो भने त्यसले पार्ने सकारात्मक प्रभावको बारेमा सहजै अनुमान गर्न सकिन्छ ।
मुख्य नेतृत्व फजुल खर्ची हुँदा र त्यसले सबैतिर यस्तै प्रवृत्तिलाई प्रश्रय दिंदा पार्टी पंक्ति र समर्थक जनता समेत कति चाँडै भ्रष्टीकरणको आहालमा डुब्न पुग्छन भन्ने कुरा त विगत केही दशक यता नेपालको राजनीतिमा देखिएकै छ ।
यो नकारात्मकताबाट पाठ सिकेर नेताहरू सादा जीवन बाँच्दा जनता र नेताहरूबीचको दूरी घट्छ । यसले जनतामा सहभागिताको भावना बढाउँछ । नेतृत्व तहमा सादा जीवनशैली अपनाउने प्रतिस्पर्धा भयो भने पार्टीहरुभित्र स्वस्थ मानसिकताको पनि विकास हुन्छ ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया