रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने
काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौ जिल्ला अदालतमा उपस्थित हुुने भएका हुन ।
उनीविरुद्ध काठमाण्डौमा पनि सहकारीसम्बन्धी अर्काे मुद्दा रहेकाले आज आफैँ अदालतमा उपस्थित हुन लागेका हुन् ।
लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने शर्तमा कास्की अदालतले हिजो रिहा गर्न आदेश दिएको हो ।
अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई हिजो साँझ परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।
उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न अदालतबाट आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने बताइएको छ ।
रवि लामिछाने कार्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयबाटै गिरफ्तार भएका थिए । ८४ दिनको हिरासत बसाईपछि लामिछाने रिहा भएपछि रास्वपाका कार्यकर्ताले हिजो पोखरामा नारा जुलुशसहित उत्सव मनाएको थियो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया