सत्तारुढ काँग्रेस-एमाले गठबन्धनमा खटपट
काठमाडौं, २६ पुस । सत्ताधारी दुई दल नेपाली कांग्रेस र एमालेबीच खटपट सुरु भएको छ । उनीहरुबीच खटपट चलेको चर्चा भइरहँदा सरकारको विपक्षी दलका नेताहरूको उठबस गहन रुपमा चलेको छ । यसलाई निकै चासोका साथ हेरिएको छ ।
अहिले प्रतिपक्षी तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भइरहेको हो ।
उनीहरूबीचको छलफलको विषय भने बाहिर आइसकेको छैन ।
खासगरी प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने अभिव्यक्ति दिएपछि कांग्रेस नेताहरूले प्रतिवाद गर्न थालेका छन् । नेताहरू एनपी सावद, मीनेन्द्र रिजाल र अर्जुननरसिंह केसीले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिको औचित्य समाप्त भएको बताइरहेका छन् ।
सत्ताधारी दलबीच खटपट बढेका बेला प्रचण्ड र नेपालबीच बिहीबार पनि छलफल भएको थियो । हालै लिङ्देनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीलाई भेटेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया