Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

मकवानपुरमा ठूलो परिमाणमा गाँजा, चरेस र अफिमसहित तीन जना पक्राउ


मकवानपुर, २८ पुस । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० ग्राम अफिमसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरू दुई जना भारतीय नागरिक र एक नेपाली छन्। उनीहरूलाई शनिबार बिहान र आइतबार बिहान पक्राउ गरी मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो।

शनिबार बिहान ठूलो परिमाणमा लागु औषध ओसार पसार भइरहेको छ भन्ने गोप्य सूचना पाएपछि मकवानपुरको थाहा नगरपालिका-११ टिस्टुङ नौखण्डेमा चेकजाँच गरेको थियो। राति अन्दाजी २ बजे डिएल ८ सिएक्स १२२४ नम्बरको कार चेकजाँच गर्दा त्यहाँबाट चरेस बरामद गरेको थियो।

लागु ‍औषध भेटिएपछि कारमा सवार दुई भारतीय नागरिकहरुस हरियाणाको हिसार जिल्ला गोविन्दनगरका २५ वर्षीय कुनाल गोथ्वाल र सुवासनगरका २० वर्षीय मानिसकुमारलाई नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए।

त्यस्तै आइतबार बिहान साढे ५ बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा भारतीय नम्बर प्लेट भएको डिएल १३ सी १५६१ कारलाई रोकेर चेकजाँच गर्दा १०१ किलो गाँजा फेला पारेको थियो।

गाँजा फेला परेपछि कारचालक पर्साको वीरगन्ज महानगरपालिका२६ अठराह सुगौलीका २० वर्षीय राजन रारूत कुर्मीलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट