Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

अध्यादेशप्रति सत्तारुढ दलहरुभित्रै विवाद


काठमाडौं । सरकारको मुख्य दल कांग्रेस–एमाले बीच सरकारका क्रियाकलापप्रति असहमति बढ्दै गएको छ । अध्यादेशप्रति कांग्रेसभित्रै असन्तुष्टि छ भने एमालेले त्यसको बचाऊ गरिरहेको छ ।

नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाई बहुमतको सरकारले अध्ययादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन्। बुटवलमा आज आइतबार आयोजित एक कार्यक्रममा बोल्दै साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरूले स्थायीत्व दिन नसक्ने समेत बताए।

बहुमत हुँदा पनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेता साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे।

दुई दल बीचको न्युनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न उनले सरकारलाई सुझाव समेत दिए।

उता नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् अधिवेशन नचलेका वेला सरकारले अध्यादेश ल्याउनसक्ने भन्दै सरकारको बचाउ गरेका छन् ।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता ज्ञवालीले नेपालको संविधानको धारा ११४ ले अध्यादेशको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन नचलेका वेला अध्यादेश ल्याउनसक्ने बताए।

उनले सदनको पहिलो बैठकमै अध्यादेशहरू पेश हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए। उनले कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेका वेला र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसद्को अवज्ञा भन्न नहुने जिकिर गरे । अध्यादेश संसद्लाई अवज्ञा गर्ने गरी नभई आवश्यकता महसुस गरेर ल्याइएको प्रष्टोक्ति दिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट