Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

जनावरले पनि एक अर्कालाई उपहार दिन्छन्


एजेन्सी, २८ पुस । हामीलाई लाग्नसक्छ कि एकअर्कालाई उपहार दिने काम मानिसहरूले मात्रै गर्न सक्छन्। तर अरू कैयौँ जनावरहरूले पनि आफ्ना साथी र सङ्गीहरूलाई ‘उपहार’ दिने गरेको पाइन्छ।

शङ्खेकिरा, गड्यौला र ‘स्क्वीड’ भनिने समुद्री जलचरहरूमा पनि सहवासअघि वा विपरीत लिङ्गीलाई फकाउन ‘उपहार’ दिने अभ्यास देखिन्छ।

चराहरूले पनि एक अर्कालाई उपहार दिन मजा मान्ने गरेको देखिन्छ। ठूलो खैरो भद्राईले पनि सहवासअघि पोथीलाई साना-साना किराहरू उपहार दिन्छ।

यद्यपि यो प्रचलन सबैभन्दा धेरै किरा र माकुरा प्रजातिमा देखिन्छ। एक पखेटामा छ वटा रातो धब्बा हुने भाले झिँगाले आफ्नो शुक्राणुबाट ‘सायनाइड’ तत्त्व दिन्छन्।

हाम्रो बगैँचामा पाइने माकुराहरूले आफूले गरेको सिकार आफ्ना सम्भावित जोडीलाई जालमा पोको पारेर दिन्छन्। उनीहरूले त्यसलाई थप आकर्षक बनाउन त्यसमा रसायनहरू पनि थप्छन्। यदि पोथी माकुराले त्यसलाई अस्वीकार गरे उनीहरूले उपहारलाई थप राम्रोसँग मोरेर दिन्छन्।

कहिलेकाहीँ भाले माकुराहरूले कमजोर गुणस्तरको सिकार पोको पारेर पोथीलाई झुक्क्याउँछन्। कहिलेकाहीँ आधा खाइसकेको खानेकुरा पनि राखिदिन्छन्। पोथी माकुरा जालोमा पोको पारिएको उपहार खोल्न व्यस्त भएका बेला भाले माकुरा पोथीसँग संसर्ग गरेर उपहारबारे पोथीलाई थाहा हुनु अघि नै त्यहाँबाट भाग्छन्।

एक अध्ययनका अनुसार बगैँचामा पाइने माकुराले दिने ७० प्रतिशत उपहारहरू नक्कली हुन्छन्।

‘भालेहरूले झुक्क्याउने प्रयास गर्छन्। उनीहरूले पुरानो र काम नलाग्ने फट्याङ्ग्राको खुट्टा पोको पार्न सक्छन् वा त्यस्तै केही पोको पार्नसक्छन्,’ क्यानडास्थित युनिभर्सिटी अफ टोरोन्टोका आनीबानी सम्बन्धी विज्ञ ड्यारल ग्विन भन्छन्।

अरू किराफट्याङ्ग्राले पनि उपहारमा छलछाम गर्ने गरेको पाइन्छ।

‘मेरो घर तल बर्खायाममा यस्तो दृश्य देखिन्छ। त्यहाँ भाले झिँगाहरूले खोलाबाट पानीमा पाइने किराहरू ल्याउँछन्,’ ग्विन भन्छन्।

‘उनीहरूले ल्याएपछि पोथीहरूले पनि त्यो खोस्न सङ्घर्ष गर्छन्। उनीहरूलाई फूल पार्नका लागि पोषण पनि आवश्यक पर्छ। मैले एक पटक भाले झिँगाले एउटा झारको फुल ल्याएर उपहार दिन खोजेको देखेको थिएँ।’ काम नलाग्ने उपहार दिएर भालेहरूले क्षणिक फाइदा लिए पनि पोथीले मोरिएको उपहार खोलेर धोका पाएको वास्तविकता थाहा पाएपछि त्यस्तो उपहार दिने भालेलाई अस्वीकार गर्छन्। यसको अर्थ भालेहरूले यौन सम्पर्कका लागि मात्रै उपहारको सहारा लिने गरेको देखिन्छ।

पोथी किराहरूले जोडी मिल्ने कैयौँ भालेहरूसँग संसर्ग गरे पनि धोका दिने भालेको शुक्राणुबाट पोथीहरूको अण्डा विकास हुने सम्भावना कम हुन्छ।

कतिपय किराहरू आफूले फकाउन चाहेका पोथीका लागि दिगो किसिमको उपहारदेखि आफ्नै ज्यान समेत दिन तयार हुन्छन्। एक प्रकारको फट्याङ्ग्राले यौन संसर्गका समयमा पोथीलाई आफ्नो पखेटामा टोक्न दिन्छ र उनीहरूको शरीरमा रगतको काम गर्ने ‘हेमोलिम्फ’ चुस्न समेत दिन्छ। यस्तो ‘लभ बाइट’ पछि भालेहरू कमजोर हुन्छन् र अर्को जोडी भेट्ने सम्भावना निकै कम हुन्छ।

एउटा रातो-कालो माकुराले संसर्गका समयमा पोथीको बङ्गाराले आफ्नो पेट चपाउन दिन्छ।

‘एक अर्थमा भन्ने हो भने उसले आफ्नो जीवन नै गुमाउँछ,’ ग्विन भन्छन्।
‘डार्बिनको योग्यताको सिद्धान्तको दृष्टिबाट हेर्दा रातो ढाड भएका माकुराहरूमा संसर्गका लागि पोथी पाउनु निकै दुर्लभ अवसर हो। उसले उल्टो पल्टिएर पोथीलाई खानेकुरामा भुलाउँदा उसको संसर्गको अवधि लामो हुन्छ र पोथीको डिम्बाशयमा धेरै शुक्राणु पठाउन सफल हुन्छ। जसको परिणाम स्वरूप धेरै बच्चा जन्माउन पोथी सफल हुन्छन्।’

सन् २०२२ मा चीनको जियान्सु अकाडमी अफ एग्रीकल्चरल साइन्सेसका कीटविज्ञ चुफेइ ताङ र उनका सहकर्मीहरूले ९९० लाख वर्ष पुरानो एम्बरमा किरा उपहार दिने उदाहरण संरक्षित भएको भेट्टाएका थिए।

ती सबै उदाहरणहरू भालेले पोथीसँग जोडी बाँध्नका लागि वा यौन संसर्गका लागि दिइएका उपहार थिए। यस्ता उपहारहरूमा पोषण पनि हुने भएका कारण पोथीले पनि यसबाट फाइदा पाउँछन्।

यद्यपि जनावरहरूले अर्कालाई खुसी बनाउनका लागि मात्रै पनि उपहार दिने गर्छन्। उदाहरणका लागि डल्फिनले मानिसहरूलाई टुना र अक्टोपस जस्ता समुद्री जीवहरू उपहार दिएको देखिन्छ। विगतमा आफूलाई सहयोग गर्ने मानिसहरूलाई कागले पनि उपहार दिएका विवरण मानिसहरूले सुनाएका छन्।

‘मैले कागबाट उपहारहरू पाएकी छु। मलाई ओखर, जैतुन,बोतलका बिर्का र वाइनका बिर्काहरू कागले ल्याइदिएका छन्,’ यूकेको केम्ब्रिज विश्वविद्यालयमा तुलनात्मक चेतना अध्यापन गर्ने प्राध्यापक निकोला क्लेटन भन्छिन्।

‘भाग्यवश तिनीहरूले मलाई सडकमा मारिएका जनावरहरू ल्याइदिएका छैनन्। म शाकाहारी हुँ र मलाई गरगहनाका टुक्राहरू मन पर्छ।’

कागजस्तै गरी कैलो वनकागले पनि आफ्ना जोडीलाई उपहार दिएर आनन्द लिने गर्छन्। क्लेटन र उनको टोलीले गरेको एक प्रयोगका क्रममा आफूले उपहार दिएका किरा वा खानेकुरा पोथीले खाइरहेको कैलो वनकागका भालेले हेरेर बस्ने गरेको पाइएको थियो। भाले कैलो वनकागहरूले आफ्नी पोथी जोडीलाई मनपर्ने खानेकुरा दिने प्रयास गर्ने र सकेसम्म हरेक पटक नयाँनयाँ खानेकुरा उपहारमा दिने गरेको क्लेटनको टोलीले पत्ता लगाएको थियो।

उनका अनुसार यी चराहरू आफ्नी पोथी जोडीलाई के मन पर्छ भन्नेमा चनाखो हुन्छन् र आफूलाई मन पर्ने भन्दा पनि पोथीलाई मन पर्ने खानेकुराको उपहार दिन्छन्।

निःस्वार्थ उपहार दिने प्रचलन ठूलो बाँदर प्रजातिको बोनबोहरूमा पनि हुन्छ। यो जनावरको ९९ प्रतिशत डीएनए मानव प्रजातिसँग मिल्छ। सन् २०१३ को एक अध्ययनले बोनबोहरूले कहिलेकाहीँ चिन्दै नचिनेका बोनबोहरूलाई पनि दान जसरी उपहार दिने गरेको पाइएको थियो।

उक्त अध्ययनका क्रममा बोनबोहरूले स्याउ र केरा जस्ता खानेकुरा आफ्नो समूहका सदस्य नरहेका अरू बोनबोहरूसँग पनि बाँडेर खाने गरेको पाइएको थियो। कहिलेकाहीँ त उनीहरूले आफ्नै खानेकुरा समेत अरूलाई दिएर नयाँ बोनबोसँग चिनजान गर्ने गरेको पाइएको थियो।

त्यसकारण यो सबै कुराले एउटा प्रश्न जन्माउँछ। किन जनावरहरूले एक अर्कालाई उपहार दिन्छन्रु फरक-फरक प्रजातिका जनावरहरूमा यस्तो प्रचलन देखिनुको एउटा कारण चाहिँ भाले र पोथी दुवैको प्रजनन क्षमता बढाउनु पनि हुनसक्छ। किरा र माकुरा प्रजातिमा उपकारको कारण यौन निश्चय हो। यद्यपि कहिलेकाहीँ भाले माकुराहरूले उपहारमा छलछाम गर्छन्।

‘भालेले पोथीलाई खानेकुरा र पोथीले भालेलाई आफ्नो प्रजनन अङ्गमा पहुँच दिन्छन्,’ ग्विन भन्छन्। यदि यो कुरा त्यति रोमाञ्चक लागेन भने तपाईँ काग र बोनबोजस्ता अरू जनावरहरूले उपहार दिएर मात्रै आनन्द मान्ने गरेको तथ्य पनि ख्याल गर्नुपर्ने हुन्छ।

‘किरा फट्याङ्ग्राहरूको संसारमा भालेले संसर्गका लागि पोथीलाई फकाउन उपहार दिन्छन्। तर कैलो वनकागहरू एउटै जोडीसँग आफ्नो जुनी बिताउँछन्। त्यसकारण त्यो घुस होइन त्यो उपहार नै हो,’ क्लेटन भन्छिन्।

‘कैलो वनकागहरू धेरै नै बुद्धिमान हुन्छन्। यिनीहरू धेरै वर्ष बाँच्छन्। सम्बन्ध बनाउनु एउटा कुरा हो त्यसलाई कैयौँ वर्षसम्म टिकाउनु अर्को कठिन काम हो। त्यसकारण उपहार आभारका प्रतीक हुन्।’

त्यसकारण कैलो वनकाग वा कागहरूले उपहार दिनु पछाडिको कारण मानिसहरू जस्तै हो। आफूसँग सबैभन्दा नजिक रहेकाहरूसँग सामाजिक बन्धन अझै बलियो बनाउनु हो। बीबीसीबाट


क्याटेगोरी : रोचक

प्रतिक्रिया


ताजा अपडेट