Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

अवैध उत्पादनको प्रचारप्रसार: विज्ञापन बाेर्डकाे उदासीनता


काठमाडौं । अवैध उत्पादनको बिक्री वितरण र प्रचारप्रसारमा नियामक निकाय विज्ञापन बाेर्डकाे कमजोर भूमिका फेरि एकपटक चर्को आलोचनाको विषय बनेको छ । ‘श्री केश आयल’ नामक उत्पादनको बजारमा व्यापक बिक्री वितरण र प्रचार भइरहेको छ । यसले औषधीय गुण भएकाे दाबी गर्दै उपभोक्तालाई आकर्षित गरिरहेको छ । तर, यो तेल कुनै पनि नियामक निकायमा दर्ता नगरिएको र यसको गुणस्तर पुष्टि नगरिएको कारणले विवादको केन्द्रमा रहेको छ ।

तेलको औषधीय गुणको विवाद

“३२ जडिबुटी मिश्रणबाट कपाल झर्ने समस्या समाधान गर्ने र नयाँ कपाल उम्राउने” जस्ता ठूला दाबी गरिँदै आएको यो तेलले औषधीय दाबी गरे पनि औषधि व्यवस्था विभागमा दर्ता छैन । विभागका अनुसार, यसको प्रभावकारितासम्बन्धी कुनै वैज्ञानिक प्रमाण उपलब्ध छैन । विभागका एक अधिकारीले बताए, “तेलमा दाबी गरिएका ३२ जडिबुटीका मिश्रणबारे कुनै अध्ययन छैन, यसको प्रभावकारिताबारे थप अनुसन्धान गर्न आवश्यक छ ।”

काठमाडौं महानगरको कारवाही र पुनः सक्रियता

काठमाडौं महानगरपालिकाले भदौ महिनामा यो उत्पादनलाई अवैध घोषित गर्दै उत्पादन बन्द गर्न निर्देशन दिएको थियो र दुई लाख रुपैयाँ जरिवाना पनि तिराएको थियो । तर, हाल यो उत्पादन पुनः खुलेआम बजारमा बिक्री भइरहेकाे र विभिन्न टेलिभिजन कार्यक्रम तथा मिडियामा यसको प्रचारप्रसार भइरहेको छ । पत्रकार ऋषि धमला सञ्चालक रहेकाे प्राइम टेलिभिजनमा श्री केश आयल कमेडी शाे र एपी वानमा प्रकाश सुवेदीकाे कार्यक्रममा याे अवैध तेल उपहार दिने काम भइरहेकाे छ ।

प्रभावशाली व्यक्तित्वको प्रयोग र उपभोक्ता ठगी

श्री केश आयलको प्रचारका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि वर्तमान प्रधानमन्त्रीसम्मको उपस्थिति देखाइएको छ । यसलाई उपभोक्ताको विश्वासमाथि खेलबाड भएको ठहर गरेका छन् ।

तेलको मूल्य प्रति बोतल ३,००० रुपैयाँ तोकिएको छ, तर खरिद गर्दा भ्याट बिल उपलब्ध नगराइने गुनासो उपभोक्ताबाट आएको छ । यसले राज्यको राजस्व प्रणालीमा घाटा पुर्याउनुका साथै उपभोक्ता अधिकारको उल्लंघन गरिरहेको छ ।

विज्ञापन बोर्ड र औषधि विभागको भूमिका

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले यो उत्पादनको प्रचार रोक्न असक्षम रहेको बताएका छन् । “व्यक्तिगत सामाजिक सञ्जालमार्फत प्रचार गरिएको अवस्थामा नियन्त्रण गर्न समस्या हुन्छ,” उनले भने । तर, विवादास्पद उत्पादनको प्रचारप्रसार रोक्न प्रभावकारी कदम नचालिएकोप्रति सरोकारवालाले आलोचना गरेका छन् ।

औषधि व्यवस्था विभागले भने यस उत्पादनको गुणस्तरबारे विस्तृत अध्ययन र नियमनको आवश्यकता औंल्याएको छ । “अवैध उत्पादनहरूको बिक्री र प्रचारप्रसार नियन्त्रण गर्न थप कडा कानुनी व्यवस्था आवश्यक छ,” विभागका एक वरिष्ठ अधिकारीले बताए ।

अवैध उत्पादनको बिक्री र प्रचारले उपभोक्तालाई ठग्ने मात्र होइन, राज्यलाई पनि राजस्व घाटा पुर्‍याउँछ। श्री केश आयल जस्तै दाबी गरिएको उत्पादनका लागि कडा नियामक व्यवस्था लागू गर्न र प्रभावकारी अनुगमन प्रणाली विकास गर्न सरकार जिम्मेवार हुनुपर्छ । साथै, प्रभावशाली व्यक्तित्वलाई यस्ता उत्पादनको प्रचारमा प्रयोग गर्नु उपभोक्ता अधिकारको दुरुपयोग हो भन्ने विज्ञहरूको सुझावलाई सम्बोधन गर्न आवश्यक छ ।

सरकार र सम्बन्धित निकायहरूले तत्काल कारवाही गर्दै यस्ता उत्पादनको प्रचार र बिक्रीलाई रोक्न कडा कदम चाल्नु अपरिहार्य देखिन्छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट