Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

माओवादी केन्द्रले माघ २ मा बस्ने पदाधिकारी बैठकबाट छ महिने अभियान र कार्य विभाजनबारे निर्णय गर्दै


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले माघ २ गते पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठकले पार्टीका गतिविधिहरूलाई व्यवस्थित गर्दै छ महिने अभियानको योजना तथा कार्य विभाजनलाई ठोस गर्ने लक्ष्य राखेको छ । साथै, यस बैठकले विभिन्न प्रदेशका इञ्चार्ज परिवर्तन गर्ने सम्भावनाबारे छलफल गर्ने जनाइएको छ ।

मधेस प्रदेशमा हालका इञ्चार्ज सचिव लीलामणि पोखरेलको भूमिकाप्रति व्यापक असन्तोष व्यक्त हुँदै आएको छ । मधेसका नेताहरूले पोखरेललाई केही सीमित व्यक्तिहरूलाई मात्र च्यापेर काम गरेकाे आरोप लगाएका छन् । साथै, उनले मधेस प्रदेशको पार्टी संगठनलाई सबल बनाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

यी कारणले, उनलाई हटाएर उपमहासचिव मात्रिका यादवलाई मधेस प्रदेशको इञ्चार्ज बनाउने सम्भावना बढेको छ ।

बागमती प्रदेशमा इञ्चार्ज अग्नि सापकोटाको भूमिकाबारे पनि प्रश्न उठेको छ । पार्टी, संगठनलाई गति दिन नसकेको, गलत नेतृत्वको संरक्षक बनेको र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको प्रभाव, छायाँमा रहेको भन्दै उनलाई फेर्नुपर्ने आवाज बढ्दै आएको छ । तर, सापकोटालाई फेरेर कसलाई नियुक्त गर्ने टुंगो नलागेकाले उनलाई तत्काल कायम राख्ने सम्भावना रहेको छ ।

गण्डकी प्रदेशमा इञ्चार्ज दीनानाथ शर्माप्रति नेताहरूको असन्तोष तीव्र बनेको छ । उनले प्रदेशमा पार्टी गतिविधि सशक्त बनाउन नसकेको र संगठन कमजोर बनाएको भन्दै गण्डकीका नेताहरूले उनलाई पार्टीको सल्लाहकार पदमा सीमित राख्नुपर्ने सुझाव दिएका छन् । तर, हाललाई उनलाई नै निरन्तरता दिने सम्भावना रहेको छ, किनकि तत्काल नयाँ नेतृत्व चयनको तयारी पूरा भएको छैन । यसका लागि महाधिवेशन कुर्नुपर्छ । शर्माको नेतृत्वमा छ महिने अभियान पनि प्रभावकारी नहुने धेरैकाे मत रहेकाे छ ।

माघ २ को बैठकले पार्टीको समग्र कार्यसम्पादनको समीक्षासँगै छ महिनाका लागि अभियानको योजना निर्माण गर्नेछ । प्रदेश तहमा देखिएका विवाद समाधान गर्दै पार्टीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ बैठकमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट