Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

अन्नपूर्ण हिमालले फेरिदिएको घान्द्रुक गाउँको भाग्य


अन्नपूर्ण हिमाल विश्वको दशौँ अग्लो हिमाल हो भने नेपालको नवाैं अग्लो हिमाल हो । गण्डकी प्रदेशको कास्की जिल्लामा पर्ने यो हिमाल समुद्री सतहदेखि ८,०९१ मिटर उचाइमा अवस्थित छ । पोखराबाट अन्नपूर्ण बेसक्याम्पसम्मको दूरी ८७ किलोमिटर छ, जुन पैदल यात्राका लागि पाँच दिन लाग्छ । पोखराबाट दुई दिनको पैदल यात्रापछि पुगिने घान्द्रुक गाउँ अन्नपूर्ण क्षेत्रको पर्यटकीय केन्द्र हो । हाल यातायातको सुविधा भएकाले पोखराबाट ४२ किलोमिटर मोटरमा यात्रा गरेपछि घान्द्रुक सजिलै पुग्न सकिन्छ ।

घान्द्रुक गाउँ: पर्यटकहरूका लागि प्रिय गन्तव्य

समुद्री सतहदेखि २,०१२ मिटर उचाइमा रहेको घान्द्रुक गाउँ गुरुङ समुदायको बाहुल्य क्षेत्र हो । अन्नपूर्ण गाउँपालिकामा पर्ने यो गाउँ अन्नपूर्ण हिमालको मनमोहक दृश्य र मौलिक गुरुङ संस्कृति प्रस्तुत गर्ने ठाउँको रूपमा चर्चित छ । यहाँबाट देखिने अन्नपूर्ण हिमालको मनोरम दृश्य र यहाँको सांस्कृतिक विविधताले पर्यटकलाई आकर्षित गरेको छ ।

गुरुङ संस्कृति, ढुङ्गाले बनेका परम्परागत घर र रंगीन गुराँसहरूले यो गाउँलाई विश्वकै नमुना गाउँ बनाएको छ ।

२०२६ सालअघिको घान्द्रुक गाउँ

२०२६ सालअघि घान्द्रुक गाउँमा कुनै व्यावसायिक होटेल थिएनन् । गाउँलेहरू कृषि पेसामा निर्भर थिए भने युवाहरू लाहुर जान्थे या वैदेशिक रोजगारीमा जान्थे । त्यो समय अन्नपूर्ण हिमाल आरोहण गर्न आउने पर्यटक घान्द्रुक हुँदै अन्नपूर्ण बेसक्याम्प पुग्थे ।

पर्यटकहरूलाई गाउँलेहरूले सुरुमा सहज रूपमा स्वागत गर्थेनन् । खेतबारीमा दिनभरि काम गरेका किसानले राति पर्यटकलाई खाना खुवाउने र उनीहरूले खाएको भाँडा माझ्नुपर्ने भएकाले धेरैले बास दिन मन पराउँदैनथे ।

त्यस समय पर्यटकहरू आफैं टेन्ट बोकेर आउँथे र बगरमा बसेर खाना पकाएर खाने गर्थे ।

घान्द्रुकमा पहिलो गेस्ट हाउसको सुरुवात

स्थानीय शंकरबहादुर गुरुङले पर्यटकलाई आफ्नो घरमा बास दिन सुरु गरे । शंकर गुरुङले अङ्ग्रेजी बोल्न जान्ने भएकाले पर्यटकहरूसँग सजिलै घुलमिल भए । सुरुमा उनले पैसा लिन मानेनन् तर पछि पर्यटकहरूले आफ्नै खुसीले पैसा दिन थाले ।

शंकरले २०२७ सालमा गेस्ट हाउस व्यवसाय सुरु गरे । तर, २०२६ सालमै कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटेल खोलेका थिए । यद्यपि, पर्यटकलाई बास बसाल्ने र यसलाई व्यावसायिक स्वरूप दिन पहल गर्ने पहिलो व्यक्ति शंकर गुरुङ नै थिए ।

समुदायको सोच परिवर्तन

त्यतिबेला होटेल व्यवसायलाई गाउँलेहरूले हेय दृष्टिले हेर्थे । उनीहरू होटेल व्यवसायलाई “विदेशीको जुठो भाँडा माझ्ने” काम भनी आलोचना गर्थे । तर, अहिले यहाँ ४० प्रतिशतभन्दा बढी मानिस होटेल र होमस्टे सञ्चालन गरेर जीवन गुजारा गरिरहेका छन् ।

हाल गाउँमा ५५ वटा होटेल र २३ वटा होमस्टे सञ्चालनमा छन् । शंकरबहादुर गुरुङ हाल ७९ वर्षका छन् र आफ्नो “मिलन होटेल” सञ्चालन गरिरहेका छन् ।

पर्यटनको प्रभाव

पर्यटनको विकासले गर्दा वैदेशिक रोजगारीमा गएका युवाहरू गाउँ फर्केर होटेल र लज सञ्चालन गर्न थालेका छन् । विक्रम गुरुङजस्ता ऊर्जाशील व्यक्तित्व लामो समय विदेश बसेर गाउँ फर्किएपछि होटेल व्यवसायमा सक्रिय भएका छन् ।

अन्नपूर्ण हिमाल: घान्द्रुकको सौन्दर्यता र समृद्धिको आधार

अन्नपूर्ण हिमालले घान्द्रुक गाउँलाई विश्व पर्यटनको नक्सामा स्थापित गरेको छ । हिमालको सौन्दर्यता बिना घान्द्रुक गाउँ अधुरो जस्तो लाग्छ। अन्नपूर्ण हिमालकै कारण घान्द्रुकको भाग्य फेरिएको मान्न सकिन्छ ।

यो पनि पढ्नुहोस, काठको अभावले घान्द्रुक गाँउमा घरहरु आधुनिक बन्न थाले, मौलिकता संकटमा


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट