Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

मधेस केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनमा साझा धारणा बनाउने


काठमाडौं, १ माघ । मधेस केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका छन् । मंगलबार काठमाडौंमा बसेको मधेसकेन्द्रित राजनीतिक दलहरूको कार्यदलस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

संविधान संशोधन गर्दा मधेसको मुद्दालाई सशक्त रूपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने भन्दै उनीहरूले सहमति गरेका हुन् । दुईदलीय प्रणालीमा लैजाने, थ्रेस होल्डलगायतका विषयले देशको राजनीतिलाई नै असर पार्ने काम भइरहेकाले साझा ढंगले अघि बढ्ने सहमति समेत भएको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए ।

मधेसकेन्द्रित राजनीतिक दलहरू अब मोर्चा बनाएर अघि बढ्ने भन्दै उनले आगामी बैठकमा साझा एजेन्डा तयार गरिने बताए । विभिन्न कारणवश मधेस केन्द्रित दलहरू विभाजित भएको भन्दै अब सहकार्य गर्ने प्रण गरिएको र वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने उनले बताए ।

बैठकमा जनता प्रगतिशील पार्टीलगायत राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत सहभागी थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि बैठकमा बोलाए पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको र अर्को बैठकमा सहभागी हुने जवाफ आएको त्रिपाठीले बताए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट