Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

पार्टी एकता गर्नेमा समाजवादी मोर्चाका चार दल सकारात्मक


काठमाडौं । समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा एकता गर्न सकारात्मक रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

‘वामपन्थीबिच एकता र ध्रुवीकरण हुनुपर्नेमा सबै एकमत छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर छ । समाजवादी विचारधारालाई केन्द्रीकृत गर्दै जानुपर्ने आजको आवश्यकता छ । यी सबै परिस्थितिलाई मध्यनजर गरी वैकल्पिक शक्ति निर्माणमा गम्भीर भएर लागौँ हामी सबै सकारात्मक छौँ । प्रचण्डजी, माधवजी र विप्लवजीको पनि ढिलोचाँडो वामपन्थी शक्ति निर्माण गर्नेमा विमति छैन’, यादवले भने ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाबाट भएका विगतको अभ्यास, गतिविधिबारे गम्भीर समीक्षा गरी वामपन्थी शक्तिबिच एकता, सहकार्य र ध्रुवीकरण गर्ने विषयमा साझा धारणा बनेको बताए ।

‘सुरुमा मोर्चाको गतिविधि रफ्तारमा अगाडि बढेको थियो । क्रान्तिकारी कम्युनिस्टहरूको गोलबन्धले केही हुन्छ भन्ने आम जनतामा प्रभाव परेको थियो । बिचमा मोर्चाको गति अलि धिमा भयो’, उनले भने, ‘यी सबै विषयमा आज गम्भीर समीक्षा भएको छ । ठुलो वामपन्थी शक्ति निर्माण गरेर जाने विषयमा चारवटै पार्टीको सकारात्मक धारणा आएको छ । माघ १६ गते काठमाडौंमा हुने कार्यक्रमले जनतामा सकारात्मक सन्देश प्रवाह हुनेछ ।’

नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पनि वामपन्थी शक्तिहरू एक्लाएक्लै हिँड्नुभन्दा एउटै समाजवादी केन्द्र निर्माण गरेर जाऊँ भन्नेमा प्रचण्ड, माधव, विप्लव सकारात्मक देखिएको जानकारी दिए । विगत १९ महिनादेखि एउटै मोर्चामा सहकार्य गर्दै आएका माधवलाई पार्टी एकताका लागि प्रचण्डले पहिले नै प्रस्ताव राखेका थिए । तर वैचारिक, सैद्धान्तिक तथा सांगठनिक रूपमा स्पष्ट नभएसम्म पार्टी एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी रहेको छ ।

मंसिरको पहिलो हप्ता बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले तत्काल माओवादीलगायत अन्य वामपन्थी शक्तिसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको थियो । तर विचार मिल्ने दलसँग भविष्यमा हुने एकताका लागि ढोका खुलै राखेको थियो । यता नेसपा र नेकपाले यसअघि नै माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट