Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

रवि लामिछाने ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । हिजो जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

लामिछानेले प्रभु बैङ्कको बैङ्क ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउनु हुनेछ ।

काठमाण्डौ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको एक अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदिएकोले प्रस्तुत मुद्दाको प्रकृति समेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट ६० लाख रुपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नू’ अदालतको आदेशमा उल्लेख छ ।

अदालतले मागेको धरौटी बुझाएर छुटेपछि लामिछानेले न्यायालयलाई धन्यवाद दिएका छन् । ‘न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु’उनले भने ।

यसअघि अघिल्लो बिहीवार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले मागेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा भएका थिए ।

लामिछानेमाथि कास्की र काठमाडौंबाहेक रूपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट