Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

मौलिक पोशाक भाडामा लगाएर आम्दानी


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकहरूलाई विभिन्न जातीय समुदायको पोशाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।

अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्रह्मणलगायत जातजातिको पोशाक लगाएर तस्वीर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोशाक भाडामा लगाएर स्थानीयवासीले आम्दानी गर्न थालेका हुन् ।

स्थानीय रामकृष्ण पुनले एक जोडा पोशाक एक घण्टा प्रयोग गरेबापत २ सयदेखि ३५० रुपैयाँसम्म लिने गरेको बताए । रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोशाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोशाक पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको भीड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

रत्नेचौरमा दैनिक ३ सयदेखि ५ सय जना पर्यटक आउने गरेका स्थानीय कुशल शर्माले बताए । रत्नेचौर र बागलुङको कुडुले ९फेदी० जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकहरूका लागि अर्को आकर्षणको केन्द्र हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट