Techie IT
Samayabaddha
शनिबार, ५ माघ, २०८१

कम्युनिष्टहरुको बाहुल्य रहेको समाजवादी मोर्चासँग कुनै सहकार्य हुँदैन : उपेन्द्र यादव


लहान, ५ माघ । जनता समाजवादी नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरुको बाहुल्य रहेको समाजवादी मोर्चासँग कुनै सहकार्य नहुने बताएका छन् । बलिदानी दिवसको अवसरमा लहानको मुख्यचोकमा रहेको रमेश महतो सहिद पार्कमा रहेका सहिदहरुलाई मल्यापर्ण गर्दै उनले यस्तो बताएका हुन् ।

मधेशवादी दलहरुसँग विगतदेखि नै एकता विभाजन भइरहेको श्रृङ्खला चलेपनि अब एकता र सहकार्यका लागि फेरि गृहकार्य हुने सम्भावना रहेपनि कम्युनिष्टहरुले नेतृत्व गरेको समाजवादी मोर्चामा जाने कुनै सोच नरहेको प्रष्ट्याए । उनेल भने, ‘‘कतिपटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास गर्ने ? उहाँसँग सहकार्य र मोर्चा बनाएर धोका खाइसकेकाले विश्वास गर्ने कुनै आधार नै छैन । अगाडिबाट एकताको कुरा गर्ने पछिबाट छुरा हान्ने प्रवृति राख्ने प्रचण्डको बेलीमा कुनै भरोसा छैन । अहिले समाजवादी मोर्चाको बैठकमा जाने औचित्यपनि रहेन ।’’

जनमत पार्टी, लोकतान्त्रिक समाजववादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीसँग सहकार्यको कतिको सम्भावना रहेको सञ्चारकर्मीहरुको जवाफमा अध्यक्ष यादवले भने, ‘‘मधेशवादी दलहरुसँग एकता र सहकार्यको प्रवल सम्भावना छ । विगतमा भएका कमि कमजोरीहरुबाट पाठ सिकेर एकता वा मोर्चाको साकारात्मक वातावरण बन्दै गएको छ ।’’ मधेशवादी दलहरु फुटेपछि मधेशी जनतामा निरासा छाएकै अनुभूति आधारभूत सङ्गठन निर्माणको क्रममा गाउँगाउँ पस्दा एकताका लागि नेता कार्यकर्ताहरुबाट सुझाव आएको उनले बताए ।

मधेश आन्दोलनमा सहादात प्राप्त गरेका सहिदहरुले देखेका सपना पूरा नभएसम्म संविधान संशोधनका लागि आवाज उठाइरहने प्रेरणा र प्रण गर्नका लागि सहिद पार्कमा माल्यापर्ण गर्न आएको अध्यक्ष यादवले स्पष्ट गरे।

अध्यक्ष यादव माल्यापर्ण गरेर गएको केहि समयमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहिदहरुलाई माल्यापर्ण गर्दै सम्पूर्ण मधेशी दलहरु गेलबन्द हुनुको अर्को कुनै भरपर्दो विकल्प नरहेको बताए। कार्यक्रममा सङ्घीय सांसद राज किशोर यादव, मधेश प्रदेशसभा सदस्यहरु क्रमशः राजकुमार गुप्ता, ललिता दास विद्रोही लगायतकाहरुले माल्यापर्ण गरेका गरेका थिए ।

यता सहिद विजय सहनीका पिता लक्ष्मी सहनी, बेचन यादवका पत्नी रामपरी यादव र मोहम्मद अनिसका माता पिता, रमेश महतोको पिता रयिबा महतो र प्रमेद सदायका पिता बालेश्वर सदायले सहिद परिवारलाई दिएको रोजगारी खोसिएको र लहानमा बलिदानी दिवस माल्यापर्णमा मात्रै सिमित भएको सामूहिक रुपमा गनुनासो गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट