रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता
काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा आइतबार मुद्दा दर्ता गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लामिछानेसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् ।
सुप्रिम सहकारीमार्फत लामिछानेका नाममा दुई करोड रुपैयाँ लिएको भौचर भेटिएको थियो ।
काठमाडौं र कास्की जिल्ला अदालतबाट यसअघि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भइसकेको छ । रुपन्देहीबाहेक उनीविरुद्ध चितवन र पर्सामा मुद्दा दायर हुन बाँकी छ ।
चितवन प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाइसकेको छ । पर्सामा भने प्रहरी अनुसन्धान जारी छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया