Techie IT
Samayabaddha
सोमबार, ७ माघ, २०८१

यू– १९ महिला विश्वकप टी– २० : स्कटल्याण्डसँग नेपालको हार


काठमाडौं, ७ माघ । यू– १९ महिला विश्वकप टी– २० क्रिकेटमा नेपालले सोमबार दोस्रो हार व्यहोरेको छ । मलेसियाको बाङ्गीस्थित यूएसडी–यूकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । जवाफमा स्कटल्यान्डले १९औँ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पिप्पा स्पुरलले ४७ बलमा ३५ रन बनाएपछि खेल नेपालको हातबाट फुत्किएको हो ।

१७ औँ ओभरमा रचना चौधरीले दुई विकेट लिएर नेपाललाई खेलमा फर्काए पनि त्यसपछि १८औँ ओभरमा रिया शर्माले दुई चौका दिँदा नेपाल खेल गुमाउन पुग्यो । यो हारसँगै नेपालको अघिल्लो चरणको यात्रा कठिन भएको छ ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । समूह डीमा अस्ट्रेलिया दुई जितपछि ४ अंकका साथ शीर्ष स्थानमा छ भने बंगलादेश २ अंकका साथ दोस्रो र २ अङ्क नै रहेको स्कटल्यान्ड तेस्रो स्थानमा छ । नेपालले अन्तिम खेल बुधबार अस्ट्रेलियासँग खेल्नेछ ।

स्कटल्यान्डसँगको खेलमा रचना चौधरी र सिमाना केसीले दुई–दुई विकेट लिए भने पुजा महतो र करिश्मा गुरुङले एक–एक विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाइन् । नेपाललाई अलआउट गर्न स्कटल्यान्डकी माइसी मासेइराले ३।५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै, एम्मी बाल्डी र नायमा शेखले २–२ विकेट लिए ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट