Techie IT
Samayabaddha
सोमबार, ७ माघ, २०८१

शिवम् सिमेन्ट उपभोक्ता ठगी प्रकरण: सरकारको मौनताले प्रश्न खडा गर्यो


शिवम् सिमेन्ट, देशकै प्रतिष्ठित मानिएको गोयल समूहद्वारा उत्पादित ब्रान्ड, अहिले गुणस्तर र उपभोक्ता ठगीका मुद्दामा गम्भीर विवादमा परेको छ । विज्ञापनमा आकर्षक उपहारको दावा गरे पनि वास्तविकतामा उपभोक्ताले यस्ता कुनै पनि लाभ पाएका छैनन् । अझै, गुणस्तर र परिमाणका दृष्टिले समेत उपभोक्ताहरूले शिवम् सिमेन्टप्रति असन्तोष जनाउँदै आएका छन् ।

शिवम् सिमेन्टले आफूलाई बजारमा उत्कृष्ट सिमेन्टको रूपमा स्थापित गर्न करोडौं रुपैयाँ खर्च गरी विज्ञापन अभियान चलाए पनि उत्पादित सिमेन्टको गुणस्तर बारम्बार प्रश्न उठेको छ । अनुभवी मिस्त्री र उपभोक्ताहरूका अनुसार शिवम् सिमेन्टको प्रयोगले निर्माण सामाग्री कमजोर हुने र सिमेन्टले जोड नसमात्ने तथ्य सार्वजनिक भएको छ ।

पछिल्लो समय सरकारी निकायहरूले गरेको अनुगमनका क्रममा शिवम् सिमेन्टले ५० किलो हुनुपर्ने बोरामा ४८ किलो मात्र सिमेन्ट राखेको पाइएको छ । साथै, उत्पादनमा प्रयोग गरिएका कच्चा पदार्थमा म्याग्नेसियमको मात्रा अत्याधिक पाँच प्रतिशतभन्दा बढी देखिएको छ । यसले सिमेन्टलाई गुणस्तरहीन बनाउँछ ।

शिवम् सिमेन्टले कर्पोरेट मिडियाको सहारा लिएर बजारमा बलियो पकड बनाउँदै उपभोक्तालाई भ्रममा पार्दै आएको आरोप लागेको छ । सरकारी निकायहरूले बारम्बार अनुगमन र छानबिन गरी प्रतिवेदन बुझाउँदा पनि हालसम्म कारबाही प्रक्रियामा कुनै प्रगति देखिएको छैन ।

यस बाहेक शिवम् सिमेन्टमाथि सरकारले तोकिएको कर छली गरेको आरोप पनि लागेको छ । स्वदेशी उत्पादनको नाममा सहुलियत लिने र गुणस्तरहीन उत्पादन विक्री गर्ने कार्यमा शिवम् संलग्न रहेको सरकारी स्रोतले बताएको छ ।

केही वर्षअघि शिवम् सिमेन्टले प्राथमिक शेयर (आईपीओ) मार्फत ठूलो रकम संकलन गर्दा प्रिमियम थपेर लगानीकर्तालाई ठगेको आरोप लगाइएको थियो । संकलित रकमको उपयोगबारे स्पष्ट पार्न नसक्दा, लगानीकर्ताहरूमा आक्रोश उत्पन्न भएको छ ।

शिवम् सिमेन्टले आफूले स्वदेशी चुनढुंगा प्रयोग गर्ने दावी गरे पनि भारतबाट कमसल कच्चा पदार्थ आयात गरिरहेको खुलासा भएको छ । उपभोक्ताहरूले गुणस्तरहीन उत्पादन र भ्रामक विज्ञापनका कारण ठगिएको महसुस गरेका छन् ।

शिवम् सिमेन्टमाथि बारम्बार उठेका गुनासाहरू, अनुगमन प्रतिवेदन र कारबाहीको मागका बाबजुद सरकार र सरोकार निकायहरूको मौनताले उपभोक्ताहरूलाई थप निराश बनाएको छ । ऐन, कानून हुँदा पनि कार्यान्वयनको अभावले उपभोक्ताको हितमा क्षति पुर्‍याइरहेको छ ।

उपभोक्ताहरूले गुणस्तरहीन उत्पादन गर्ने शिवम् सिमेन्टमाथि कडा कारबाही गर्न गुणस्तर सुधार गर्न दबाब दिनु पर्ने माग गरिरहेका छन् । साथै, सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्नुपर्ने र उपभोक्ताको ठगी रोक्न सरकारले तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट