एन्फा महिला लिगमा वालिङको सान्त्वना जीत
काठमाडौं । एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले सान्त्वना जीत हात पारेको छ ।
लिग दोस्रो चरणको आफ्नो अन्तिम खेलमा वालिङले बाग्मती युथ क्लबलाई ३–१ गोलले हरायो । वालिङकी सुष्मा तामाङले ह्याट्रिक गरिन् । बाग्मतीकी सहारा लिम्बुले १ गोल फर्काइन् ।
एन्फा महिला लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ । वालिङ यसअघि नै प्लेअफ होडबाट बाहिरिइसकेको छ ।
प्रतियोगिताको क्वालिफायर–१ मा शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब खेल्नेछन् । यो खेल आउँदो शनिवार बिहान १० बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।
यसअघि शुक्रवार दिउँसो २ बजे इलिमिनेटरमा तेस्रो स्थानमा पुलिस र चौथो स्थानको बाग्मती युथ क्लब खेल्नेछन् । यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । क्वालिफायर–१ मा जित्ने टोली सिधै फाइनलमा पुग्नेछ ।
क्वालिफायर–१ मा हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि क्वालिफायर– २ मा आउँदो सोमवार बिहान १० बजे दशरथ रङ्गशालामा खेल्नेछ । फाइनल खेल माघ १६ गते बुधवार दिउँसो ४ बजे दशरथ रङ्गशालामा हुनेछ ।
प्लेअफअघि अब एउटा खेल बाँकी छ । भोलि आर्मी र एपीएफ खेल्दैछन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया