Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

अखिल क्रान्तिकारीको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी


काठमाडौं, ९ माघ । अखिल क्रान्तिकारीको यही माघ १२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ। मंगलबार राति अबेरसम्म भएको मनोनयनमा ४ जनाले प्यानलै बनाएर र दुई जनाले स्वतन्त्र उम्मेदारी दिएका हुन्। उम्मेदवारहरूलाई माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तीन जना उपमहासचिवहरूको छुट्टाछुट्टै साथ रहेको छ।

प्यानल बनाएर उम्मेदवारी दिनेहरूमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल र हेमन्त राई छन्। यादव माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकटका हुन्।

योगेन्द्र बुढा र विश्वमणि थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उपदेश यादव प्यानलबाट महासचिवमा सञ्जिव फुँयालले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा पार्वता चौलागाईं उम्मेदवार छिन्।

सुदिन पौडेल प्यानलबाट श्याम रोका र हेमन्त राई प्यानलबाट रोशन थापामगर महाचिवका उम्मेदवार छन्। विजय सापकोटा प्यानलबाट महासचिवको उम्मेदवार टुंगिसकेको छैन।

सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अध्यक्षका आकांक्षीहरूलाई खुमलटार नै बोलाएर छलफल गरेका थिए। छलफलबाट सर्वसम्मत हुने अवस्था नदेखिएपछि उनले चुनावबाटै नेतृत्व चयन गर्न भनेका थिए। तर हेडक्वार्टरबाट कसैले पनि पक्षधरता नलिने बताएका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट