Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

‘गोलञ्जोर गाउँपालिकालाई सिन्धुलीकै नमूना पालिका बनाउँदैछु’


शंकर बराल, सिन्धुलीका ९ स्थानीय तहमध्ये सबैभन्दा चर्चित नाम हो । उहाँ अध्यक्षमा निर्वाचित भएपछि सिन्धुलीका चिया चौतारामा एउटा भाष्य नै स्थापित भएको छ, अध्यक्ष त गोलञ्जोरको शंकर बरालजस्तो हुनुपर्छ । ‘गोलञ्जोर समृद्धिको आधारः कृषि, पर्यटन, भौतिक पूर्वाधार’ भन्ने मूलनाराका साथ गाउँपालिकाले निरन्तर काम गरिरहेको छ । अहिलेसम्म गाउँपालिकामा के के काम सम्पन्न भए, विकास निर्माणको अवस्था कस्तो छ र गोलञ्जोरलाई समृद्ध बनाउन के के काम भइरहेको छ भन्ने विषयमा समयवद्धले अध्यक्ष शंकर बरालसँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेपः

आजभोलि केमा व्यस्त हुनुहुन्छ अध्यक्षज्यू ?

आजभोलि गोलञ्जोर गाउँपालिकाकै जनताको विकास र सम्बृद्धिको काममा व्यस्त छु । हिउँद लागिरहेको छ । हिउँद भएकाले पालिकाले गर्ने कामहरु भइरहेको छ । टेण्डरको काम भइरहेको छ । टेण्डरका लागि आएका निवेदनहरु स्वीकृत गर्ने कामहरु गरिरहेका छौं । असार अगाडि नै सबै कामहरु सम्पन्न गर्ने गरी अगाडि बढाएका छौं । पालिकाले अधिकांश योजनाका कामहरु संझौता गरेर अगाडि बढाइसकेको र केही योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा पुगेका छन् । योजनाका कामलाई गुणस्तरीय रुपमा जिम्मेवारीपूर्वक अगाडि बढाउनका लागि पालिकाका प्राविधकिहरुलाई फिल्डमा अनुगमनका लागि निरन्तर खटाइरहेका छौं । विगतमा अध्यक्षलाई कहिल्यै पनि कार्यालयमा भेटिएन भन्ने आम जनगुनासो थियो, म नेकपा (एमाले) का तर्फबाट अध्यक्ष पदमा निर्वाचित बनेर आएपछि कार्यालयमा बसेर काम गरिरहेको छु । जनताका पिर मर्काहरु सुनेको छु ।

आफ्नो तर्फबाट गर्न सक्ने सबै कामहरु उहाँहरुकै अगाडि गरिदिएको छु । जिल्ला तहमा हुने प्रशासनिक झञ्झटमा पनि नागरिकको सहयोगी बनेको छु । जुन कुरा गर्न सकिदंैन, त्यो कुरा प्रष्टसँग जनतालाई भन्ने गरेको छु । अहिले गर्न नसक्ने काम पनि हुन्छ भनेर नागरिकलाई आश्वासन दिनेहरु पनि छन् तर त्यस्तो गलत कुरा कहिल्यै पनि बोल्न हुँदैन । आफूले जे सकिन्छ त्यो मात्रै गर्ने हो । स्थानीय सरकार गाउँमैं छ भन्ने अनूभूति गोलञ्जोर गाउँपालिकाका नागरिकलाई प्रत्याभूति दिनुपर्छ भन्ने कुरा प्रमुख हो ।

गोलञ्जोर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणको कामलाई कसरी अगाडि बढाएको छ ?

गोलञ्जोर गाउँपालिकाको गाउँसभाद्वारा बनेका जति पनि जनपक्षीय योजनाहरु छन्, ती हामीले अगाडि बढाइरहेका छौं । ती योजना अगाडि बढाउने क्रममा कार्यपालिकाले पनि केही थप निर्णयहरु गरेको छ । रु १० लाखसम्मको काम उपभोक्ता समितिमार्फत गर्ने र १० लाखभन्दा माथिको काम इबिडिङको माध्यमबाट भइरहेका छन् । हामीले वडा तहका कामहरुको भुक्तानीका लागि गाउँपालिका कार्यालयसम्म धाउनै पर्दैन । वडा कार्यालयमै बिल भपाई बुझाएपछि अन्तिममा वडा कार्यालयले नै पालिकासम्म बिल भर्पाइ पु¥याउने व्यवस्था मिलाएको छु । वडाका सम्झौता गर्ने काम वडा तहबाटै भइरहेको छ । जति पनि उपभोक्ता समितिमार्फत कामहरु हुन्छन्, ती त्यो पनि सम्बन्धित वडा तहबाटै काम अगाडि बढाइरहेका छौं । यसरी हेर्दा यसभित्र भौतिक पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षासँग सम्बन्धित काम पर्छन् । जनताको जीवनसँग जोडिने अरु सबै किसिमका कामलाई क्रमिकरुपमा अगाडि बढाइरहेका छौं र यो करीव करीव अन्तिम चरणमा छन् । यस वर्षको असार अगाडि नै सबै कामहरु पुरा गर्नुपर्छ भनेर सबै शाखा प्रमुखहरुलाई निर्देशन दिएको छु ।

बर्षाबाट बिग्रिएका मोटरबाटोहरु निर्माण भइसकेको छ । एक घर एक धारा कार्यक्रम सम्पन्न भएको छ । त्यो कार्यक्रमलाई पालिकाका बाँकी वडाहरुमा पु¥याउने योजना छ । त्यसैगरी सिंचाइका कामहरु पनि भएका छन् । अत्याधुनिक र सुविधासम्पन्न अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचनका बेला मैले जनताको दैलोमा पुगेर स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको थिएँ, अहिले त्यही प्रतिवद्धता अनुसार पालिकाको सुविधासम्पन्न प्रशासनिक कार्यालय, वडा कार्यालयहरु, कृषि तथा पशु सेवा केन्द्र, विद्यालय भवनहरु धमाधम निर्माण भएका छन् कुनै भवन निर्माण सम्पन्न भएर सञ्चालनको तयारी अबस्थामा छ । केही भवनहरु शिलान्यासको तयारीमा छन् । केही स्थानमा प्राविधिक अध्ययनको काम पनि शुरु भइसकेको छ । त्यसलाई नै संरक्षण गरेर हुन्छ या संरचना नै नया बनाउनुपर्ने हो, प्राविधिक रिपोर्टका आधारमा काम अगाडि बढिरहेका छन् । त्यसका लागि गाउँसभाद्वारा छुट्याइएका बजेटले मात्रै पुग्ने अवस्था छैन । हाम्रै पार्टीको केन्द्रमा सरकार छ । समग्र गोलञ्जोरको बिकासका लागि योजना र बजेट प्राप्त गर्ने कार्यमा मेरो सक्रियता जारी छ ।

अनि चुनावका बेला बोलेका कुरा कति पूरा भए, कति बाँकी छन् ? गरेरै छाड्छु भनेर गरिएका प्रतिबद्धता कति पूरा भए ?

अब यो वर्ष सम्पन्न हुँदा दुई वार्षिक योजना सम्पन्न गर्छाैंै । त्यसैले हामीले भनेका जति पनि प्रतिबद्धता थिए, त्यसको ३५ प्रतिशत काम सम्पन्न भइसकेका छन् । हामीले बोलेका कुरा मात्र हैन, जनताको आवश्यकता र चाहनालाई समेत बुझेर काम अगाडि बढाइरहेका छौं । बाँकी रहेका कामहरुलाई पनि प्राथमिकताका आधारमा अगाडि बढिरहेका छौं र झण्डै शतप्रतिशतको हाराहारीमा पुग्न सकौंला भन्ने अनुमान गरेका छौं । यदि प्राकृतिक प्रकोपको कारण हामीले बनाएका संरचना वा विकासनिर्माणको काममा क्षति पुग्छ भने त्यो बेग्लै कुरा हो नत्र हामी हाम्रो लक्ष्यमा पुग्नेछांैं । गोलञ्जोर गाउँपालिका र वडा कार्यालयसम्मको बाटालाई बाह्रै महिना चल्ने बनाउनका लागि काम भइरहेको छ । पालिकाको फोहोर व्यवस्थापन, अस्पताल निर्माणको काम अन्तिम चरणमा छ र अब छिट्टै यो सम्पन्न हुन्छ । त्यसैले २ आर्थिक वर्षसम्म हामीले देखिने र अनूभूति गर्ने गरी मुख्य कामको थालनी ग¥यौं । आगामी वर्षदेखि हामीले गरेका काम देखिन थाल्छ र जनताले स्थानीय सरकार सँगसँगै विकास भएको महसुस गर्न थाल्नेछन् ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले के गर्दै छ ?

पर्यटन प्रर्वद्धनका लागि गाउँपालिकाले दीर्घकालीन योजना बनाउने काम गरिरहेको छ । चुनाबी घोषणापत्र अनुसार पालिका स्तरीय योजना आयोग बनाउने र विगतमा पालिकाले गरेका योजनाहरुको अबस्था, गर्नुपर्ने कामहरुको अध्ययन गरेर दीर्घकालीन जनपक्षीय योजनाहरु अगाडि बढाउनु पर्छ भन्ने कुरामा म प्रष्ट ढंगले अगाडि बढेको छु । जिल्लाकै सबैभन्दा अग्लो स्थान हामीकहाँ छ । त्यहाँ अघिल्लो नेतृत्वले बनाएर अलपत्र छोडेको भ्यूटावरलाई सञ्चालनमा ल्याउने र सुनकोशी नदीमा ¥याफ्टिङलाई व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ । अघिल्लो नेतृत्वले त्यसमा लगानी पनि गरेको थियो, अहिले त्यसको अबस्था हामी बुझ्दैछौं । पालिकाको एउटा काम त्यो पनि हो । हाम्रो पालिका नेपालको आफ्नै मौलिक प्रकारको फलफूल जुनार उत्पादनको मूख्य क्षेत्र पनि हो । ती क्षेत्रमा पर्यटकहरुको आकर्षण बढाउन होमस्टे अवधारणालाई अगाडि बढाएका छौं । अहिलेको समित बजेट तथा खस्कँदो अर्थतन्त्र अहिले लयमा आउन थालेको बताईंदै छ । त्यस कुराको हामीले अनुभूति गर्न पालिकामा पर्याप्त बजेट बिनियोजन हुन आवश्यक छ । अहिलेकै अबस्थामा हामीले चाहेर पनि धेरै कामहरु अगाडि बढाउन नसक्ने रहेछौं तर केन्द्र तथा प्रदेश सरकारको सहयोग भयो भने हामी जिल्लाकै नमुना पालिकाका रुपमा विकास गरेर देखाउन सक्छौं ।

गाउँपालिकाको मुख्य केन्द्र ग्वालटार हो । यसलाई व्यवस्थित बनाउन के के काम भइरहेका छन् ?

पालिकाको मुख्य बजार खुर्कोट नेपाल सरकारकै नमूना सहरका रुपमा विकास गर्ने गरी काम अगाडि बढिसकेको छ । कृषि अर्को व्यापारिक केन्द्र खनियाँखर्कलाई व्यवस्थित बनाउनका त्यहाँका स्थानीयसँगको समन्वयमा विशेष योजना बनाएर बढाउँदैछौं ।

त्यसैगरी पालिकाको केन्द्रका रुपमा रहेको ग्वालटारलाई व्यवस्थित प्लानिङसहितको बजारका रुपमा विकास गराउन लागिरहेका छौं । भवन मापदण्ड बनाउँदैछौं । बजार व्यवस्थापन समिति गठन गरेर बजारलाई सुन्दर र सफा राख्ने कुरालाई अगाडि बढाउँदैछौं ।

त्यसो भए गाउँपालिकालाई स्थानीयले आफ्नै घर नजिकैको सरकारका रूपमा अनूभूति गरेकाछन् त ?

पक्कै पनि गाउँपालिकाले आफ्नो काम तीव्र गतिमा गरिरहेकै छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जिम्मेवारी पाएपछि सरकारको रुप ग्रहण हुने हो । स्थानीय सरकार आफैंले मात्र केही गर्ने हैन, यो कुरा सबैले बुझ्नुपर्छ र बुझेका पनि छन् जस्तो मलाई लागिरहेको छ । विगतमा के के भयो, कसरी कामहरु अगाडि बढे, त्यो कुरा आम नागरिकले बताउने हो, तर निर्वाचित भएर आएपछि सेवाग्राहीले सहजैसँग भेट्न र आफ्ना कुरा राख्न पाइरहनु भएको छ । मलाई लाग्छ, कोही पनि व्यक्ति गाउँपालिकाको कामप्रति असन्तुष्ट हुनुहुन्न । कुनै बेला कसैलाई चित्त बुझेन भने पनि नगरपालिकामा आएर गुनासो गर्न पाइन्छ । त्यो गुनासोको सम्बोधन गर्न हामी तयार छौँ । हाम्रो काम भनेकै जनतालाई सुखी र खुशी बनाउँदै पालिकाको विकास गर्ने त हो नि ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि कस्तो योजनाका साथ नगरपालिकाले काम गरिरहेको छ ?

हामीले पालिकाको कृषि क्षेत्रको कामलाई अगाडि बढाइरहेका छौं, चाहे त्यो उत्पादनका क्षेत्रमा होस् या व्यापारको काममा होस् । पालिकाभित्रका किसानहरुलाई उत्पादन गर्नका लागि अनुदानको व्यवस्था गरिरहेका छौं । त्यो अनुदान उत्पादनका आधारमा दिंदै आएका छौं । पशुपालनका लागि बीमाको काम भइरहेको छ ।

पालिकाभित्र व्यावसायिक कृषकहरुलाई शतप्रतिशत पशुको बीमा गर्ने योजनामा बनाएको छु । विशेषगरी यस वर्ष गाई र भैंसीको बीमा गर्ने काम भइरहेको छ । साथै गाईभैँसी ब्याइसकेपछि उनीहरुलाइ पोषणका निम्ति पैसा दिने योजनालाई आगामी बजेटबाट कार्यान्वयनमा लैजाने योजना छ ।

तपाईँले गोलञ्जोरको भविष्यको मुहार कस्तो देख्नु भएको छ ?

हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको अगुवाईमा भएको पूर्व पश्चिम लोकमार्ग अभियानभित्रै समेटिएको हाम्रो गाउँपालिका यसै मध्यपहाडी लोकमार्गमै पर्दछ । सुनकोशी नदीको तटीय क्षेत्रसँग जोडिएको र राजधानी काठमाडौंबाट नजिकैको दुरीमा रहेको गोलञ्जोर गाउँपालिका नागरिकलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुराले मलाई निरन्तर सताइरहेको छ । नेपालको मौलिक फल जुनारनैं यहाँका किसानहरुको सबैभन्दा ठूलो उत्पादन हो । यहाँका किसानहरुले सिजनमा निकै राम्रो आम्दानी गरिरहेका छन् । योसँगै किसानहरुले सहायक वालीका रुपमा तरकारीहरु उत्पादन गरिरहेका छन् । पछिल्लो समय जुनारमा रोगकिरा लागेको र त्यसलाई समयमै नियन्त्रणमा लिनका लागि पालिकाको एक्लो प्रयासले केही पनि नहुने भएकाले मैले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि मन्त्रालयमा लबिङ गरिरहेको छु । यहाँ कृषि, पर्यटननैं यहाँका नागरिकको आम्दानीको आधार हो ।

गोलञ्जोर गाउँपालिकामा अघिल्लो वर्षमा गाडी मर्मत र इन्धनमा अत्याधिक खर्च भयो भनेर महालेखाकै प्रतिवेदनले औंल्याएको थियो, अहिलेको अबस्था कस्तो छ ?

तपाईले सोध्नु भएको कुरा सही हो । हामी पनि भर्खरै निर्वाचित भएर आएका थियौं । निर्वाचित बनेर आएपछि लामो समय त बिवादमै बित्यो । प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भयो । त्यसपछि कार्यालय प्रमुख बिहीन भएर लामो समय बस्यौं । कोही पनि कार्यालय प्रमुख आउनै मान्नुभएन । आएकाहरु पनि बस्नै मानेनन् । त्यस्तो तनाबको अबस्थामा इन्धन र गाडी मर्मतका नाममा आएका खर्चहरु अस्वाभाबिक थिए । अहिले हामीले बिगतको कमजोरीलाई करेक्सन गरेर अत्यन्त मितव्ययिताका साथ कामहरु गरेका छौं । विगत वर्षहरुमा भएका कमी कमजोरीहरुबाट पाठ सिक्दै हामीले चुस्त दुरुस्त रुपमा आम मतदाताले देख्नेगरी काम अगाडि बढाएका छौं ।

 


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट