अमेरिकाको लस एन्जलसमा डढेलो फेरि भड्कियो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो भड्किएको छ । अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ । यो आगलागी कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।
डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ । तीव्र गतिमा चलिरहेको हावा र सुकेका झाडीहरूले गर्दा डढेलो झन् झन् फैलिरहेको बताइएको छ । डढेलोका कारण अहिलेसम्म कुनै पनि घरमा क्षति भएको छैन । तर आसपासका क्षेत्रका करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएको बताइएको छ ।
क्यालिफोर्निया राज्यका अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । लस एञ्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको बताइएको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया